नेभिगेशन
प्रदेश

वीरगंजको जनजीवन सामान्य बन्दै

वीरगंज । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगंजमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुंगो लगेपछि बुधबार बिहानदेखि वीरगंजको जनजीवन सामान्य बन्दै गइरहेको छ ।

लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले ‘कर्फ्यू’ जारी गरिएको थियो । मंगलबार बेलुकादेखि भने यहाँका बजार छिटछुटरूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णरूपमा सञ्चालनमा आएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगंजको जनजीवन सामान्य बन्दै गइरहेको बताए । ‘सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए । सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यू लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यू हटाइएको उनले जानकारी दिए ।

स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू हटाइएसँगै वीरगंजको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगंजको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन् । यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रूपमा चलिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यू मंगलबार दिउँसो ३ः०० बजेदेखि हटाइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश