नेभिगेशन
प्रदेश

चिसोले विद्यालयमा पठनपाठन स्थगित

कैलाली । सुदूरपश्चिममा लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगंगा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्यांग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो । शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ । शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश