नेपालगंज । बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीलाई लक्षित गरी साइबर अपराध र सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रममा पालिकाभित्रका आठवटा माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा शिक्षक सहभागी छन् ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा अनलाइनमार्फत हुने ठगीका विभिन्न स्वरूप, सामाजिक सञ्जालको दुरुपयोग, साइबर अपराधका कारण र त्यसबाट जोगिने व्यावहारिक उपायबारे विस्तृत जानकारी दिइने गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जनाए ।
उनले प्रविधिको सही प्रयोग आजको आवश्यकता भएको उल्लेख गर्दै विद्यार्थीहरू डिजिटल संसारका सक्रिय प्रयोगकर्ता भएकाले उनीहरू सचेत बने समाज सुरक्षित बन्न सक्ने धारणा व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लामा बढ्दो साइबर अपराधको अवस्थाबारे तथ्यांकसहित जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सामाजिक सञ्जालमार्फत चरित्र हत्यासम्बन्धी एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । करिब ५ सय जति उजुरी आए पनि धेरैजसो मुद्दा छलफल र समझदारीमार्फत टुंग्याइएको उनले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइबर प्रविधिलाई नकारात्मकरूपमा मात्रै नहेर्न आग्रह गर्दै यसको सकारात्मक प्रयोगमा जोड दिए । उनले प्रविधि ज्ञानसँगै कानूनी सचेतना पनि आवश्यक रहेको उल्लेख गरे । गाउँपालिकाका सामाजिक विकास संयोजक रामअचल धोबीले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे विद्यार्थीलाई सचेत गराए । अपरिचित व्यक्तिसँग अनलाइन संवाद नगर्न, व्यक्तिगत विवरण सुरक्षित राख्न र आर्थिक प्रलोभनमा नपर्न आग्रह गरे ।
कार्यक्रममा प्रहरी निरीक्षक रमेश विष्टले सहजीकरण तथा प्रशिक्षण दिइरहेका छन्, उनले साइबर अपराध र बालविवाह बीचको सम्बन्ध, यसले पार्ने सामाजिक तथा मानसिक असर, न्यूनीकरणका उपाय र विद्यमान कानूनी व्यवस्थाबारे जानकारी दिए ।
सहभागी विद्यार्थी कल्पना वर्माले कार्यक्रमबाट सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने तरिका सिक्न पाइएको धारणा राखिन् । उनले सामाजिक सञ्जालका सकारात्मक र नकारात्मक पक्षका बारेमा जानकारी प्राप्त भएको बताइन् ।