नेभिगेशन
प्रदेश

जेनजी विद्रोहमा जलेका सवारीको कर मिनाहा

मकवानपुर । बागमती प्रदेश सरकारले गत भदौमा भएको जेनजी समूहको आन्दोलनका क्रममा जलेका सवारीसाधनको कर मिनाहा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय अनुसार आन्दोलनमा जलेका तथा क्षति भएका सवारीसाधनलाई कर छुट दिने र ढिलाइ भएको जरिबाना मिनाहा गर्ने भएको हो । मन्त्रीपरिषद्को गत पुस १६ गतेको बैठकको निर्णय अनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार जेनजी प्रदर्शनका व्रmममा आगजनी तथा तोडफोडका कारण पूर्ण रूपमा क्षति भएका सवारीसाधनको लगत कट्टा (दर्ता खारेज) गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को सवारीसाधन कर र नवीकरण दस्तुर छुट दिइने छ । यस्तो सुविधा सरकारी, सार्वजनिक संस्थान, समिति, पर्यटकीय तथा निजी सवारीसाधनले समेत पाउने छन् । जसका लागि सम्बन्धित धनीले प्रहरी मुचुल्कालगायत पूर्ण क्षति पुष्टि हुने आवश्यक प्रमाण कागजात पेस गर्नुपर्ने छ । सार्वजनिक सवारीसाधनको हकमा भने सवारीसाधन कर र नवीकरण दस्तुरका अतिरिक्त जाँचपास नवीकरण दस्तुर र बाटो इजाजतपत्र (रुट पर्मिट) नवीकरण दस्तुरमा छुट दिने निर्णय गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी समूह प्रदर्शनका कारण यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह अवरुद्ध भएको थियो । उक्त अवधिमा कर वा दस्तुर तिर्ने अन्तिम म्याद परेका सवारीसाधनको हकमा सरकारले विशेष राहतको व्यवस्था गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्