नेभिगेशन
प्रदेश

प्रहरीमा ६ सयलाई विभागीय कारबाही

काठमाडौं । सामाजिक सञ्जालको गलत प्रयोग गरेको आरोपमा प्रहरी प्रधान कार्यालयले झन्डै छ सय जना प्रहरीलाई कारबाही गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक सामग्री पोस्ट गर्ने तथा प्रहरी पोसाक र हैसियत दुरुपयोग गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेका हुन् । 

यो पछिल्लो पाँच वर्षमा गरिएको कारबाही संख्या हो । प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति उल्लङ्घन गरी कारबाहीमा पर्नेमा एक जना प्रहरी नायब महानिरीक्षक (डिआइजी), एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), पाँच जना प्रहरी नायब उपरीक्षक (डिएसपी), २४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् । 

यसै गरी ११ जना प्रहरी वरिष्ठ नायब निरीक्षक अर्थात् वरिष्ठ सई, २४ जना प्रहरी नायब निरीक्षक (सई), ५१ जना प्रहरी सहायक निरीक्षक (असई), सात जना प्रहरी वरिष्ठ हवल्दार, ३५ जना प्रहरी हवल्दार, ७६ जना सहायक हवल्दार, ३५८ जना प्रहरी जवान तथा दुई जना प्रहरी कार्यालय सहयोगी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेलाई संगठनको नीति र आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्