नेभिगेशन
अर्थतन्त्र

नेपाल–चीन केन्द्रीय बैंकबीच सहकार्य

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीको आधुनिकीकरण, सीमापार कारोबार सहजीकरण तथा लगानी प्रवर्धनका विषयमा नेपाल राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाइनाबीच सहकार्य सुदृढ गर्ने  सहमति भएको छ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय सेटलमेन्ट बैंकको २०औँ एसिया–प्यासिफिक उच्चस्तरीय बैंकिङ सुपरभिजन बैठकका क्रममा दुवै केन्द्रीय बैंकका गभर्नरबीचको उच्चस्तरीय भेटवार्तामा उक्त सहमति भएको हो ।            

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीचको भेटवार्तामा सीमापार कारोबार सहजीकरण तथा लगानी प्रवर्धन, जोखिम व्यवस्थापन तथा केन्द्रीय बैंकस्तरीय समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।              

भेटका क्रममा नेपाल र चीनबीच सीमा–पार भुक्तानी प्रणाली, लगानी प्रवर्धन तथा वित्तीय सहकार्य विस्तारका अवसर र चुनौतीबारे विस्तृत छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै, वित्तीय क्षेत्रका उदाउँदा अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट प्राप्त हुने लाभ तथा समसामयिक विषयमा द्विपक्षीय सहकार्य सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ ।                    

विशेषगरी दुवै देशका नागरिकको आवागमनका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज, सुरक्षित र लागत–प्रभावी बनाउने उपायहरू माथि गम्भीर छलफल भएको जनाइएको छ ।                

भेटमा पिपुल्स बैंक अफ चाइनाका गभर्नर पानले डिजिटल भुक्तानी प्रणालीको आधुनिकीकरण, वित्तीय सहकार्य विस्तार तथा केन्द्रीय बैंकबीचको समन्वयलाई प्राथमिकतामा राख्ने चीनको दृष्टिकोण प्रस्तुत गरे ।                  

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले दुवै केन्द्रीय बैंकबीच निरन्तर सहकार्य, समन्वय र संवाद अपरिहार्य रहेको र त्यसका लागि नेपाल राष्ट्र बैंक पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।                  

नेपाल–चीन केन्द्रीय बैंकस्तरीय यस सहकार्यले भविष्यमा डिजिटल भुक्तानी, सीमा– पार कारोबार तथा लगानी सहजीकरणमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्