नेभिगेशन
अर्थतन्त्र

हल्लाले रोकिएन नेप्सेको वृद्धि

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । संसद् पुनःस्थापनाको हल्ला छिचोल्दै नेप्से उकालो लाग्ने संकेत गरेको हो ।          

चुनाव निश्चित भएपछि उच्च अंकले बढ्न थालेको बजारमा संसद् पुनःस्थापनाको हल्लाका कारण सोमबार र मंगलबार ब्रेक लागेको थियो । हल्लाका बीच बुधबार भने नेप्से परिसूचक ५.०८ अंकले बढेर २७३१.५९ अंकमा उक्लिएको छ ।              

नेप्सेमा सूचीकृत समूहमध्ये आठ समूह बढेका छन् भने पाँच समूह घटेका छन् । सबैभन्दा धेरै वित्त समूह १.३३ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार ०.२२, अन्य ०.३०, म्युचुअल फन्ड ०.२५, उत्पादन तथा प्रशोधन ०.४१, हाइड्रोपावर समूह ०.९१, होटल तथा पर्यटन ०.० ९ र विकास बैंक ०.१५ प्रतिशतले बढेको छ ।              

सबैभन्दा धेरै लगानी समूह ०.१८ प्रतिशतले घटेको छ । निर्जीवन जीवन बीमा ०.०७, लघुवित्त ०.१३, जीवन बीमा ०.०९ र बैंकिङ समूह ०.१० प्रतिशतले घटेको छ ।                

नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा बुधबार ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो । कुल १४१ कम्पनीको शेयर मूल्य बढ्दा ११२ वटाको घटेको छ भने सात वटाको शेयर मूल्य स्थिर छ ।                    

दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आंखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । मिथिला लघुवित्त वित्तीय संस्था ९.५१, पिपुल्स पावर ९.२२ र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ९.०४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुडविल फाइनान्स ८.०७ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी डेभलपमन्ट बैंक ४.६०, आरबीबी फोकस ३.७४, हिमालयन पावर पार्टनर २.६६ र उपर स्याङ्गे हाइड्रोपावर २.६० प्रतिशतले घटेको छ ।        

कारोबार रकमका आधारमा बुधबार आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा । आँखुखोलाको ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको हो । राधी विद्युत ५४ करोड ३६ लाख र एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्