नेभिगेशन
अर्थतन्त्र

जीवन बीमा कम्पनीहरूले ६ महिनामा गरे ९४ अर्बको व्यवसाय

काठमाडौं, माघ १४

जीवन बीमा कम्पनीहरूले ६ महिनामा करिब १ खर्ब रुपैयाँको व्यवसाय गरेका छन्  । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्ममा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ९४ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन्  ।          

बीमा प्राधिकरणले बुधबार प्रकाशन गरेको  तथ्यांकअनुसार बीमा कम्पनीहरूले १ करोड १४ लाख ५५ हजार २३५ वटा बीमा पोलिसी बिक्री गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्  ।              

समीक्षा अवधिमा सबैभन्दा धेरै ने  पाल लाइफ इन्स्योरेन्सले  कुल बीमाशुल्क संकलन गरेको  छ । कम्पनीले यो अवधिमा २५ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  हो । यो रकम सञ्चालनमा रहेका सबै कम्पनीहरूले गर्ने व्यापारको २७ प्रतिशतभन्दा धेरै हो ।            

त्यस्तै नेसनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  छ भने एलआइसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  छ । हिमालयन लाइफले ८ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।            

राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  छ भने सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड, एसियन लाइफले ४ अर्ब ६४ करोड र सिटिजन लाइफले ४ अर्ब ४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  छ ।        

त्यस्तै सानिमा रिलायन्स लाइफले ३ अर्ब ६३ करोड, मेट लाइफले ३ अर्ब २४ करोड, आइएमई लाइफले ३ अर्ब १८ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड, प्रभु महालक्ष्मीले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  छ ।              

साउनदेखि पुससम्ममा कम्पनीहरूले २१ अर्ब ६४ करोड प्रथम बीमाशुल्क आर्जन गरेका छन् भने  ७२ अर्ब ७३ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्  । पुसमा मात्रै कम्पनीहरूले ४ अर्ब ६६ करोड प्रथम बीमाशुल्क र १२ अर्ब ८० करोड नवीकरण बीमाशुल्क आर्जन गरेको  तथ्यांकमा उल्लेख छ ।              

यस्तै, लघु जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा ५४ करोड ५९ लाखको व्यवसाय गरेका  छन् । गार्डियन माइक्रो लाइफले १९ करोड ४७ लाख, क्रेस्ट माइक्रोले १९ करोड ४८ लाख र लिबर्टी माइक्रोले १५ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका हुन्  ।  

तीन लघु जीवन कम्पनीले पुसमा मात्रै १२ करोड २२ लाख रुपैयाँको व्यवसाय गरेका छन्  । पुसमा मात्रै २ लाख ७२ हजार ५२ वटा बीमालेख जारी गरेका लघु जीवन बीमा कम्पनीहरूले  हालसम्ममा २२ लाख ८९ हजार ७९५ वटा बीमालेख जारी गरेका छन्  ।

नेपाल लाइफको व्यापार हिस्सा २७ प्रतिशत

जीवन बीमाको समग्र व्यापारमा नेपाल लाइफ एक्लैको व्यापार हिस्सा २७ प्रतिशतभन्दा बढी छ । ६ महिनाको अवधिमा सञ्चालनमा रहेका १४ बीमा जीवन कम्पनीले ९४ करोड ३७ लाखको व्यापार गर्दा नेपाल लाइफले २५ अर्ब ५१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको  हो । नेपाल लाइफले समीक्षा अवधिमा ५ अर्ब ९९ करोड प्रथम र १९ अर्ब ५२ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ । पुसमा मात्रै ८८ हजार ७३९ वटा बीमालेख जारी गर्दा कम्पनीले ४ अर्ब १३ करोड कुल बीमाशुल्क आर्जन गरेको  छ । पुसमा कम्पनीले प्रथम ८६ करोड ५६ लाख र नवीकरण बीमाशुल्क ३ अर्ब २७ करोड संकलन गरेको  हो ।

बीमालेखको आधारमा पनि नेपाल लाइफ निकै अगाडि छ । सबै कम्पनीहरूले ६ महिनामा ३ लाख ६३ हजार ६९६ वटा बीमालेख जारी गर्दा नेपाल लाइफले एक्लै ८८ हजार ७३९ वटा जारी गरेको छ । यो कुल बीमालेखको २४.४ प्रतिशत हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्