नेभिगेशन
अर्थतन्त्र

कोहलपुर–सुर्खेत प्रसारण लाइनको प्राविधिक परीक्षण आजदेखि

काठमाडौं । कर्णाली प्रदेशको विद्युत् प्रसारण तथा वितरण प्रणालीको गुणस्तरका लागि महत्त्वपूर्ण मानिएको १३२ केभी कोहलपुर–सुर्खेत डबल सर्किट प्रसारण लाइनको परीक्षण सुरु हुँदैछ । विविध समस्या झेल्दै निर्माण सम्पन्न भएको यो प्रसारणको प्राविधिक परीक्षण आज (शुक्रबार) देखि सुरु हुन लागेको हो ।              

प्रसारण लाइनको पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेकाले सञ्चालनमा ल्याउनुअगाडि प्राविधिक अवस्थाको जाँच गरेर परीक्षण गर्न लागिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । उनका अनुसार प्रसारण लाइन सञ्चालन गर्न अवस्था ठीक भए/नभएको तथा कतै ‘फल्ट’ छ कि छैन भनेर हेरिनेछ ।              

बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको १३२ केभी सबस्टेसनसम्म विद्युत् प्रवाह गरी नव निर्मित प्रसारण लाइन परीक्षण गर्ने तयारी भइरहेको चौधरीले जानकारी दिए । ‘समयावधिका हिसाबले यो प्रसारण लाइन आयोजना पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नुपर्ने थियो,’ उनले भने, ‘तर निकुञ्ज क्षेत्रको रुख विरुवा कटानमा आएका समस्या, अदालतको मुद्दालगायत विविध कारणले काम प्रभावित भए पनि बल्ल सम्पन्न गरेका छौं ।’              

अब परीक्षणको चरण पूरा भएपछि क्षमताअनुसार नै १३२ केभीमा सञ्चालन गर्न सकिनेछ । मध्याह्न पछिबाट लाइन छोडेर प्रसारण लाइनको परीक्षण गर्ने तयारी गरिएको उनको भनाइ छ ।                

परीक्षणको सम्पूर्ण कार्य पूरा भइसकेपछि मात्रै प्रसारण लाइन औपचारिकरूपमा सञ्चालनमा ल्याइने पनि चौधरीले बताए । कोहलपुर सबस्टेसनबाट लाइन छोडेर परीक्षण गर्न लागिएकाले टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावरवरिपरि नजान, गाईवस्तुलाई टावरनजिक जान नदिन, खतराका संकेत देखाइएका प्रसारण लाइनका संरचनालाई नछुन नेपाल विद्युत् प्राधिकरणले स्थानीयबासीमा आग्रह गरेको छ ।                  

प्रसारण लाइनको परीक्षण गर्दा कुनै प्राविधिक समस्या नआएमा चाँडै नै सञ्चालन गर्न सकिने पनि उनले बताए । ‘परीक्षण गर्दा कुनै फल्ट आएन भने छिट्टै सञ्चालन गर्न सकिन्छ । फल्ट आएमा भने कहाँ के भएको भन्ने प्राविधिक जाँच गरेपछि मात्रै सञ्चालन गर्न सकिनेछ,’ उनले भने ।                  

उनले प्रसारण लाइनको ५२ किलोमिटर लामो रुटमा कहीँ–कहीँ रुखबिरुवा तथा बाँसको बोटले छोएमा ट्रिपिङको समस्या आउन सक्ने हुँदा सबै पक्ष हेरेर परीक्षण गरेपछि मात्रै सञ्चालन गर्न सकिने बताए । बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म ५२ किलोमिटर लामो प्रसारण लाइन निर्माण सुरु भएको ७ वर्षपछि बल्ल सम्पन्न भई परीक्षणको चरणमा पुगेको हो ।                

प्रसारण लाइनको रुटमा १६२ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइन निर्माण हुने जिल्लाका स्थानीयले लामो समयसम्म अवरोध गरेकाले तथा निकुञ्ज क्षेत्रको रुख कटानको स्वीकृति ढिलो गरी आउँदा ठेकेदार कम्पनीलाई साइट क्लियर गरेर दिन नसक्दा सम्पन्न हुन पनि धेरै समय लागेको थियो । भारतको आरएस इन्फ्राप्रोजेक्ट कम्पनीले प्रसारण लाइन निर्माणको काम गरेको हो ।                    

भारतीय कम्पनीसँग २०७६ असार २२ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०७७ असारदेखि प्रसारण लाइनको रुटमा काम गर्न सुरु गरेको थियो । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनीले तीन वर्षभित्र प्रसारण लाइन निर्माण गरी विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, विद्युत् प्राधिकरणले प्रसारण लाइनको रुट खाली गरेर दिन नसकेपछि निर्माण अवधि लम्बिँदै गएको थियो ।                    

ठेकेदार कम्पनीले निर्माण लम्ब्याएपछि पाँचपटक म्याद थपपछि मात्रै प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनको रुट बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत पर्ने भएको हुँदा वन क्षेत्रको जग्गा प्राप्ति तथा रुख बिरुवा कटानको स्वीकृति लिने प्रक्रिया पूरा गर्न लामो समय लागेको थियो ।                  

बाँकेको वैजनाथ गाउँपालिका–१ गाभर र बाँनियाटारका स्थानीयवासीले समेत प्रसारण लाइन निर्माणको काममा अवरोध गरेपछि निर्माण अवधि थप लम्बिन पुगेको थियो । गाभर र बानियाँटारका बासिन्दाले प्रसारण लाइन आयोजनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका कारण विद्युत् प्राधिकरणले ४२ महिनासम्म काम गर्न सकेको थिएन ।                

उच्च अदालत तुलसीपुरले आवश्यक मुआब्जा दिएर निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएपछि प्रसारण लाइनको काम अगाडि बढेको थियो । यो प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा कर्णाली प्रदेशको विद्युतीकरण विस्तार तथा गुणस्तर सुधार हुने विद्युत् प्राधिकरणले जनाएको छ । अहिले ३३ केभी प्रसारण लाइनबाट विद्युतीकरण गरिएको छ । ३३ केभी प्रसारण लाइन लामो हुँदा तथा चुहावट धेरै हुँदा ट्रिपिङ तथा लो–भोल्टेजको समस्या छ ।                

प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालन हुँदा ६० करोड रुपैयाँ खर्च भएको अनुमान छ । यो प्रसारण लाइन सञ्चालनमा आउँदा कर्णालीको औद्योगिक विकासले गति लिने विद्युत् प्राधिकरणको भनाइ छ । यो नै कर्णाली प्रदेशमा निर्माण भएको १३२ केभी क्षमताको प्रसारण लाइन हो ।            

विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनको सुर्खेत–दैलेख खण्ड पनि निर्माणमा जाने चरणमा छ । ३२ किलोमिटर लामो यो खण्डको निर्माणका लागि वन क्षेत्रको रुख कटानको स्वीकृति मन्त्रिपरिषदबाट लिने प्रक्रियामा पुगेको चौधरीले बताए । यो खण्डको निर्माण अबको एक वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्