काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाल दुई पटकको विश्वकप विजेता इंगल्याण्डसँग पराजित भएको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको खेलमा इंगल्याण्डसँग नेपाल चार रनले पराजित भएको हो । झिनो अन्तरले पराजित हुँदा नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने अवसरबाट नेपाल वञ्चित भयो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १८० रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको योगदान दिए र उनले २९ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४४ रन जोडे ।
यसैगरी कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९÷३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे । आरिफ शेखले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आसिफ शेख सात रनमा आउट भए भने गुल्सन झा एक रनमा आउट भए ।
बलिङमा इंगल्याण्डका लियम डसनले दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको इङल्याण्डले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो ।
इंगल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक बनाए । ज्याकबले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५५ रन जोडे । यसैगरी कप्तान ह्यारीले ३२ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । विल ज्याक्सले अविजित ३९ रनको योगदान दिँदा जस बटलरले २६ रन बनाए ।
इंगल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले पावरप्लेमा मध्यम सुरुआत गरेको छ ।
नेपालले दुई पटकको च्याम्पियन इंगल्याण्डसँग खेल्दै यसपटकको विश्वकपको यात्रा सुरुवात गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकपमा सहभागिता जनाएको थियो । दुवै पटकको विश्वकपमा नेपालले समूह चरण पार गर्न सकेको थिएन ।
शनिबारदेखि सञ्चालन भएको विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा इंगल्याण्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्याण्ड छ । नेपालले आफ्नो दोस्रो खेल यही माघ २९ गते इटालीसँग खेल्नेछ ।
टी–२० वरियतामा नेपाल १६औं स्थानमा रहँदा इंगल्याण्ड तेस्रो स्थानमा छ ।
त्यस्तै इंगल्याण्डको प्लेइङ ११ मा फिल साल्ट, जस बट्लर, ज्याकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक, विल ज्याक्स, साम करान, लियाम डसन, आदिल राशिद, जोफ्रा आर्चर र लुक वूड छन् भने नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने छन् ।
यो खेलमा नेपाली टिम पहिलेभन्दा परिपक्व देखिएको छ । इंगल्याण्डजस्तो टिमलाई अन्तिम बलसम्म तनाव दिन सक्नु चानचुने नभएको दर्शकहरूको प्रतिक्रिया छ ।
उता मुम्बईमा खेल भइरहँदा नेपालमा भने सार्वजनिक स्थलहरूमा ठूलो स्क्रिनमा क्रिकेट हेर्नेहरूको भिड थियो । क्रिकेट प्रेमीहरू काठमाडौं टुँडिखेल, तीनकुने चौर, नन्दीकेशर बगैंचा, सिफल चौर, जुद्ध शालिक अगाडि, मखन चोक, हाँडीगाउँ डबलीलगायतका क्षेत्रमा बाक्लो रूपमा उपस्थित भई लाइभ क्रिकेट हेरेका थिए ।