नेभिगेशन
उपत्यका

महाराजगञ्जको भाटभटेनी पुनः सञ्चालनमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटको महाराजगञ्ज शाखा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त सुपरमार्केट पुनर्निर्माणपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
सञ्चालक मीनबहादुर गुरुङका अनुसार पूजापाठपछि शाखा सञ्चालनमा ल्याइएको छ । देशको अर्थतन्त्र र कर्मचारीको भविष्यप्रतिको जिम्मेवारी बोध गर्दै पुनर्निर्माण गरिएको उनले बताए । महाराजगञ्ज शाखाको पुनर्निर्माण तथा व्यवस्थापनमा जग्गाको मूल्यबाहेक २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाइएको छ । उक्त शाखाबाट करिब ६ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
जेनजी आन्दोलनका क्रममा देशभरका २८ मध्ये २१ शाखामा क्षति पुगेको थियो । १२ शाखा पूर्णरुपमा बन्दको अवस्थामा पुगेका थिए । यसअघि बालुवाटार र कोटेश्वर शाखा सञ्चालनमा आइसकेका छन् भने बौद्ध शाखा करिब डेढ महिनाभित्र खुल्ने तयारीमा रहेको गुरुङले जानकारी दिए । बाँकी शाखाहरू आगामी दसैंअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्