नेपालको सशस्त्र प्रहरी बलले देशको सुरक्षा तथा शान्ति कायम राख्ने महत्त्वपूर्ण जिम्मेवारी पाएको छ । कानूनतः यसको मुख्य कर्तव्य देशभित्र कानून व्यवस्था सुदृढ बनाउँदै नागरिकको सुरक्षाका लागि आवश्यक पर्ने काम कर्तव्य निर्वाह गर्नु हो । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आपतकालीन सहायता, आतंकवादविरोधी अभियान, मानव अधिकार संरक्षणलगायतका जिम्मेवारी पनि निर्वाह गर्ने भूमिका पाएको छ ।
तर हालै सार्वजनिक भएको एक घटनाले सशस्त्र प्रहरी बलले कर्तव्य पालनामा गम्भीर चुक गरेको देखिएको छ । रौतहटका ११ नं. गण र विभिन्न बीओपी तथा बेस क्याम्पमा कार्यरत १७ जना सशस्त्र प्रहरी जवानहरू तस्करीका सामग्रीलाई जोगाउने काममा संलग्न भएको पाइयो । गैरकानूनी काम गर्नेलाई नियन्त्रणमा लिनुपर्ने जिम्मेवारी निर्वाह गर्नुको साटो प्रहरीका जवान नै उल्टै तस्करलाई सहयोग गरेको पाइनुले संगठन भित्रको कामकारवाहीप्रति प्रश्न उठाउने आधार दिएको छ ।
रौतहट तथा रौतहटका विभिन्न बीओपी र बेस क्याम्पमा कार्यरत १७ जना सशस्त्र प्रहरीहरूलाई तस्करीमा संलग्न भएको आरोपमा संगठनले कारबाही गर्नु आफैंमा एक लज्जाजनक घटना हो । फेरि, एक वा दुईजनाको संलग्नता नभएर १७ जना कारबाहीमा पर्दा समग्र संगठनको छविमा आँच आउने देखिएको छ ।
हुनत, प्रवक्ताद्वारा सार्वजनिक विज्ञप्तिमा तस्करी गरी ल्याइएको चिनी, मल, सिमेन्ट, सर्फजस्ता सामान नियन्त्रणमा लिन हेडक्वाटरले छापा मार्न आदेश दिएको बताइएको छ । यो घटनामा रौतहटको शिवनगरस्थित गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरी उपरीक्षक अमर लामाले तस्करसँग मिलेमतो गरी अधिकांश सामान सुरक्षित स्थानमा पठाइदिने तर थोरै मात्र समातेर भन्सार बुझाउने गरेको भेटिएको बताइएको छ ।
घटनामा संलग्न दुई सशस्त्र प्रहरी नायब उपरीक्षक र तीन निरीक्षकसहित १७ जना प्रहरीलाई कारबाही गरिएको संगठनले सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी बलले पाएको म्यान्डेटअनुसार तस्करी, गैरकानूनी व्यापारलगायतका अवैध गतिविधिविरुद्ध कठोर कार्य गर्नुपर्ने हो । तर, कानूनको रक्षक आफैं भक्षक भएको यो घटनाले पुष्टि गरेको छ । यसप्रकारका घटनाले सशस्त्र प्रहरी बललाई अझ सचेत रहन चेताएको मान्न सकिन्छ ।
बलले आफ्नो प्रशिक्षण, अनुशासन र कर्तव्यपरायणतालाई बलियो बनाएर आफ्नो मूल उद्देश्य अर्थात् जनता र राष्ट्रको सुरक्षा सेवामा खटिनुपर्छ । तब मात्र देशमा कानूनको शासन कायम रहन र नागरिक अझ सुरक्षित हुने वातावरण बन्न सशस्त्रको साथ रहेनछ । यस्तो गल्ती अब फेरि कहिल्यै नहोस् भन्नेमा केन्द्र सचेत रहनुपर्छ र आन्तरिक र बाह्य सुनावाइमार्फत संगठनलाई चुस्त दुरुस्त राख्न रणनीति बनाउने र बनेका रणनीतिलाई पालना गर्ने काममा लाग्नुपर्दछ ।
कारबाहीका लागि कारवाही गरेजस्तो नहोस् । संगठनको तल्लो तहदेखि नै सदाचारको मूल्य र मान्यतालाई आत्मसात् गर्ने परिपाटी बसालियोस्, दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।
- प्रितम थापा, लमजुङ