विश्वकै सबैभन्दा धनी क्रिकेट प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग (आईपीएल) मा पुनः ठूलो आर्थिक कारोबार भएको छ । निजी लगानी कम्पनीहरू सम्मिलित एक कन्सोर्टियमले करिब १.८ अर्ब अमेरिकी डलरमा रोयल च्यालेञ्जर्स बैंगलुरु (आरसीबी) फ्रेन्चाइज खरिद गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सम्झौतामा निजी पुँजी लगानी कम्पनी ब्ल्याकस्टोन, खेल लगानीकर्ता डेभिड ब्लिट्जरको बोल्ट भेन्चर्स, भारतीय अर्बपति कुमार मंगलमको आदित्य बिर्ला समूह तथा टाइम्स अफ इण्डिया समूह संलग्न रहेको बताइएको छ । उक्त समूहले डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्सबाट आरसीबी खरिद गर्न सहमति गरेको हो ।
यो कारोबारले आईपीएललाई विश्वकै सबैभन्दा आकर्षक खेल लगानी बजारका रूपमा पुनः स्थापित गरेको छ । सन् २००८ मा सुरु भएको आईपीएलले छोटो समयमै विश्व खेल अर्थतन्त्रमा अभूतपूर्व स्थान बनाएको छ ।
आईपीएलमा बढ्दो निजी लगानी
आरसीबी बिक्री सम्झौता पछिल्ला वर्षहरूमा खेल क्षेत्रमा निजी पुँजीको बढ्दो चासोको अर्को उदाहरण मानिएको छ । हालै मात्र केकेआरले खेल लगानी कम्पनी आर्कटोस पार्टनर्सलाई १.४ अर्ब डलरमा अधिग्रहण गरेको थियो भने अपोलो समूहले स्पेनको चर्चित फुटबल क्लब एट्लेटिको मड्रिडमा बहुमत हिस्सेदारी लिएको छ ।
विश्लेषकहरूका अनुसार खेलकुद अब केवल मनोरञ्जन मात्र नभई बहु–अर्ब डलरको उद्योग बनेको छ । विशेष गरी क्रिकेटको आईपीएल, फुटबलको युरोपियन लिग र अमेरिकी खेल लिगहरूमा निजी लगानी तीव्ररूपमा बढिरहेको छ ।
ब्ल्याकस्टोनका लागि यो पहिलो पटक कुनै खेल टोलीमा गरिएको लगानी हुनेछ । कम्पनीले आफ्नो प्राइभेट इक्विटी फन्डमार्फत यो कारोबारमा भाग लिएको बताइएको छ ।
आरसीबी कसरी डियाजियोको हातमा पुग्यो
आरसीबी मूलरूपमा मदिरा कम्पनी युनाइटेड स्पिरिट्सको स्वामित्वमा थियो । सन् २०१२ मा डियाजियोले युनाइटेड स्पिरिट्समा बहुमत हिस्सा खरिद गरेपछि आरसीबी पनि डियाजियोको स्वामित्वमा आएको हो ।
पछिल्ला वर्षहरूमा अमेरिकी बजारमा मदिराको माग घट्नु, कर तथा लागत बढ्नु र कम्पनीको ऋण व्यवस्थापन आवश्यक भएकाले डियाजियोले गैर–मुख्य सम्पत्ति बिक्री गर्ने रणनीति लिएको बताइएको छ । आरसीबी बिक्रीलाई पनि यही रणनीतिको भाग मानिएको छ ।
आईपीएलको आर्थिक शक्ति
आईपीएलको लोकप्रियता र आम्दानी दुवै तीव्ररूपमा बढिरहेका छन् । प्रतियोगिता सुरु भएको पहिलो वर्षदेखि हालसम्म यसको मिडिया अधिकार मूल्य करिब छ गुणाले बढेको छ ।
हालको पाँच वर्षे मिडिया अधिकार सम्झौता करिब ५.४ अर्ब अमेरिकी डलर बराबरको रहेको बताइएको छ । मिडिया अधिकार अहिले फ्रेन्चाइज आम्दानीको करिब ७५ प्रतिशत हिस्सा बन्न थालेको छ, जुन सन् २०१७ मा ४८ प्रतिशत मात्र थियो ।
विश्लेषकहरूका अनुसार आईपीएलको ठूलो दर्शक संख्या, भारतको विशाल बजार, डिजिटल प्लेटफर्मको विस्तार तथा विज्ञापन उद्योगको वृद्धि यसका प्रमुख कारण हुन् ।
इन्डियन प्रिमियर लिगको स्थापना भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सन् २००८ मा गरेको हो । टी–२० ढाँचामा आधारित यो प्रतियोगिता सुरुमा आठ टोलीबाट सुरु भएको थियो ।
लिगको अवधारणा भारतीय व्यवसायी ललित मोदीले अघि सारेका थिए । क्रिकेटलाई मनोरञ्जन, विज्ञापन र व्यवसायसँग जोड्ने उद्देश्यले सुरु गरिएको प्रतियोगिता केही वर्षमै विश्वकै सबैभन्दा मूल्यवान् क्रिकेट लिग बन्यो ।
आईपीएलमा खेल्ने टोलीहरू निजी स्वामित्वमा हुन्छन् । विभिन्न उद्योगपति, चलचित्र कलाकार, ठूला कम्पनी र लगानी समूहहरूले टोली खरिद गरेका छन् । उदाहरणका लागि मुम्बई इण्डियन्स रिलायन्स समूहसँग, कोलकाता नाइट राइडर्स अभिनेता शाहरूख खानसँग, र चेन्नई सुपर किंग्स उद्योगपति एन. श्रीनिवासनसँग सम्बन्धित समूहसँग रहेको छ ।
आईपीएलले खेलाडीको मूल्य, प्रसारण अधिकार, विज्ञापन तथा टिकट बिक्री सबै क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ । विश्वका सबै प्रमुख क्रिकेट खेलाडीहरूले आईपीएल खेल्न चाहने कारण यही आर्थिक आकर्षण हो ।
भविष्यमा मिडिया अधिकार स्थिर हुने अनुमान
यद्यपि आगामी चक्रमा मिडिया अधिकारको मूल्य धेरै नबढ्ने अनुमान गरिएको छ । प्रसारण अधिकारका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संख्या घट्दै गएका कारण मूल्य स्थिर रहने सम्भावना रहेको विश्लेषण सार्वजनिक भएको छ ।
तर दर्शक संख्या र डिजिटल स्ट्रिमिङ बढिरहेकाले आईपीएलको व्यावसायिक शक्ति घट्ने सम्भावना भने कम देखिएको छ ।
अन्तिम स्वीकृति बाँकी
आरसीबी बिक्री सम्झौता लागू हुन भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र भारतको प्रतिस्पर्धा आयोगबाट स्वीकृति आवश्यक पर्नेछ ।
स्वीकृति प्राप्त भयो भने यो आईपीएल इतिहासकै ठूलो फ्रेन्चाइज कारोबारमध्ये एक हुने बताइएको छ ।
क्रिकेट अब खेल मात्र नरहेर विश्व अर्थतन्त्रको ठूलो लगानी क्षेत्र बनिसकेको छ र त्यसको केन्द्रमा आईपीएल बन्न पुगेको छनक पछिल्लो गतिविधिले देखाएको छ ।
आईपीएलमा नयाँ नियम
यसपटकको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का लागि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले नयाँ र कडा नियमहरू सार्वजनिक गरेको छ । आगामी मार्च २८ देखि सुरु हुने प्रतियोगितामा खेलको दिन कुनै पनि टोलीले अभ्यास गर्न नपाउने र खेलाडीहरूको फिटनेस टेस्टसमेत गर्न नमिल्ने गरी निर्देशिका जारी गरिएको हो ।
अनुशासन कायम राख्न र सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न बोर्डले यस्तो कदम चालेको हो । प्रतियोगिताको पहिलो खेल साविक विजेता रोयल च्यालेञ्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबिच बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुने तय भएको छ । बोर्डले मार्च ११ मा पहिलो चरणको तालिका सार्वजनिक गरिसकेको छ ।
नयाँ नियमअनुसार अब मुम्बईको वानखेडे स्टेडियममा अभ्यासका लागि विशेष व्यवस्था गरिएको छ, जहाँ दुवै टोलीलाई छुट्टाछुट्टै विकेट उपलब्ध गराइनेछ । कुनै पनि टोलीले विपक्षी टोलीका लागि तोकिएको नेट वा विकेट प्रयोग गर्न पाउने छैनन् । यदि कुनै टोलीले आफ्नो अभ्यास समयभन्दा अगाडि नै काम सकेमा पनि अर्को टोलीले उक्त खाली विकेट प्रयोग गर्न अनुमति पाउने छैन ।
खेलाडीहरूको जर्सी नम्बर परिवर्तन गर्ने सवालमा पनि बोर्डले कडाइ गरेको छ । अब कुनै खेलाडीको जर्सी नम्बर बदल्नु परेमा खेल सुरु हुनुभन्दा कम्तीमा २४ घण्टाअगावै जानकारी दिनुपर्नेछ ।
ड्रेसिङ रूमको मर्यादा र सुरक्षालाई ध्यानमा राख्दै त्यहाँ केवल आधिकारिक स्टाफलाई मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ । खेलको दिन मैदानमा केवल १२ जना सहयोगी स्टाफ मात्र टोलीसँग रहन पाउनेछन्, जसमा अनिवार्यरूपमा एक डाक्टर सामेल हुनुपर्नेछ ।
मैदानको अनुशासनका लागि बोर्डले अन्य थुप्रै महŒवपूर्ण नियमहरू पनि थपेको छ । अभ्यासका क्रममा खुल्ला नेटको अनुमति हुने छैन भने खेलाडीहरूलाई मैदानका एलईडी बोर्ड नजिक बस्न वा त्यसतर्फ बल प्रहार नगर्न सल्लाह दिइएको छ ।
ब्रोडकास्ट नियमअन्तर्गत सुरुवाती ओभरहरूमा ओरेन्ज र पर्पल क्याप विजेताले ती क्याप लगाउनु अनिवार्य हुनेछ । त्यस्तै, खेलपछिको पुरस्कार वितरण समारोहमा स्लिभलेस जर्सी वा फ्लपी टोपी लगाउन पाइने छैन ।
खेलाडीका परिवार र साथीभाइका लागि पनि नियमहरू तोकिएका छन् । उनीहरूले टोलीको बसमा यात्रा गर्न पाउने छैनन् र अभ्यास सत्र केवल हस्पिटालिटी एरियाबाट मात्र हेर्न पाउनेछन् । मैदानमा खटिने सबै स्टाफले आफ्नो एक्रिडिटेसन कार्ड अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ, अन्यथा जरिवाना तिर्नुपर्नेछ ।