नेभिगेशन
अर्थतन्त्र

अर्थतन्त्र लयमा फर्काउन वाग्लेलाई चुनाैती

काठमाडौं । मुलुकमा विभिन्न राजनीतिक परिवर्तन भए । तर, नागरिकको आर्थिक जीवनस्तरमा खास परिवर्तन भएन । आज पनि नेपालको अर्थतन्त्र खाडी र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलेको छ । लाखौं नेपाली युवा खाडी मुलुक, मलेसिया जापान, कोरियालगायत विश्वका विभिन्न देशमा काम गर्न बाध्य छन् ।
यति नै बेला इरानमाथि अमेरिका र इजरायले संयुक्त रुपबाट गरेको आक्रमणबाट पश्चिम एशिया आक्रान्त छ । जहाँ ठुलो संख्यामा नेपाली युवा रोजगारीमा छन् । इरान युद्धको विश्वव्यापी प्रभावबाट नेपाली अर्थतन्त्र पनि प्रताडित छ । पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिसँगै इन्धन संकट गहिरिएर गएको छ ।
यस विषम परिस्थितिमा आधुनिक समाज बुझेका युवा राजनीतिज्ञ नेतृत्वमा आएका छन् । फागुन २१ गतेको निर्वाचनबाट झन्डै दुईतिहाई बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारदेखि सत्ता सम्हालेको छ । युवा नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त भएका छन् । बालेनको टिममा अर्थतन्त्रको जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश र अर्थतन्त्रको राम्रो दख्खल राख्ने अनुभवी अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको हातमा पुगेको छ ।
मुलुकको अर्थतन्त्र लयबाहिर गएको अवस्थामा अर्थतन्त्रको ड्राइभ गर्नु निकै चुनौतीपूर्ण अवस्था हो । विगतमा परम्परागत शैलीको बजेट निर्माण गर्ने र हरेक अर्थमन्त्रीले पटक–पटक पेस गरेको बजेट खर्चसमेत गर्न नसक्ने र मध्यावधि समीक्षामा बजेटको आकार घटाउने प्रवृत्ति पटक–पटक भए । कर, राजस्व छली जस्ता घटना व्यापक भए । भन्सार र राजस्व अनुसन्धान, कर कार्यालयहरु ठुला हाकिमका अड्डाहरु भए । जसबाट मुलुकको राजस्व असुली प्रभावकारी हुन सकेन । राजस्व चुहावट र छलीमा सरकारी कर्मचारी र व्यापारी दुवै जिम्मेवार देखिए । 
वैदेशिक ऋण र आन्तरिक ऋणको भरमा मुलुक चलाउनैपर्ने बाध्यता अर्थमन्त्रीहरुमा देखियो । विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स पनि आर्थिक विकासमा लगानी हुनसकेन । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम खर्च हुन सकेन । उद्यमी व्यापारीहरु पनि लगानी गर्न उत्साहित भएनन् । यसपटक उद्यमी व्यवसायीको पृष्ठभूमिबाट पनि ठुलो सख्यामा संसद् प्रवेश गरेका छन् । निजी क्षेत्रको भावना र झमतालाई राम्रो बुझेका अर्थशास्त्री डा. वाग्ले यसपटक अर्थमन्त्री बनेको छन् । उनका पछाडि मुलुकका ठुलो भरोसा राखेको छ । देशभित्रै रोजगारी र उद्यमशीलताको वातावरण बन्नेछ । 
अर्थमन्त्रीको रुपमा अन्तर्राष्ट्रिय परिवेश र छिमेकी मुलुक भारत र चीनको अर्थतन्त्रलाई समेत बुझेका अर्थमन्त्री वाग्ले अर्थतन्त्रलाई पक्कै पनि गति दिनेछन् । निजी क्षेत्रको लगानीलाई विश्वासमा लिन सकेर निजी क्षेत्रलाई पारदर्शी र कानुनी सीमाभित्र राखेर अर्थतन्त्रलाई हिँडाउन सक्नु अर्थमन्त्रीको चुनौती देखिन्छ । आज पनि नेपालको अर्थतन्त्रमा ठुलो हिस्सा अनौपचारिक गतिविधि, तस्करी चोरी र चुहावटको समस्या छ । कालोधन र तस्करीको जालोमा परेको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पक्कै पनि चुनौती देखिन्छ ।
नागरिकमा विश्वास जगाउने र आशा भर्ने काम हुन सक्यो भने अर्थतन्त्र लयमा आउने विश्वास गर्न सकिन्छ । किसानले समयमा रासायनिक मल, बीउविजन पाउन नसकेको अवस्था छ । कृषिमा विचौलिया हावी छन् । सामान्य कृषक र आम विपन्न जनताको जीवनस्तर उकास्ने कार्यक्रम अर्थमन्त्रीको नीति योजनामा पर्न सक्ने विश्वास गरिएको छ । नेपाली अर्थतन्त्रको खास समस्या, कमजोरी र बेथितिको समस्यालाई चिरफार गर्न अर्थशास्त्री डाक्टर वाग्ले सफल होलान् ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्