नेभिगेशन
खेलकुद

प्रख्यात खेलाडी टाइगर वुड्स रिहा

टाइगर वुड्स मादक पदार्थ सेवन गरी सवारी चलाएको शङ्कामा पक्राउ परेको केही घण्टापछि धरौटीमा रिहा भएका छन् । फ्लोरिडामा भएको एउटा सवारी दुर्घटनाको सम्बन्धमा अमेरिकी गल्फर वुड्स पक्राउ परेका हुन् । उनी सवार गाडी पल्टिएको भए पनि कसैलाई पनि गम्भीर चोटपटक लागेको छैन ।
आफ्नो ल्यान्ड रोभर गाडीले एउटा ट्रकलाई ठक्कर दिएर पल्टिएपछि मादक पदार्थ सेवन गरी सवारी चलाएको शङ्कामा उनी पक्राउ परेका हुन्  । उनी शुक्रबार अबेर धरौटीमा रिहा भए । वुड्सले बस्ती भएको सडकमा तीव्र गतिमा गाडी चलाएको र दुर्घटनापछि उनमा ‘असामान्य अवस्था’ देखिएको मार्टिन काउन्टीका शेरिफ मार्टिन बुडेन्सिएकले बताए । अनुसन्धानकर्ताहरूका अनुसार वुड्सले कुनै प्रकारको औषधि वा लागुऔषध सेवन गरेको विश्वास गरिएको छ ।
शेरिफले वुड्सलाई सुस्त अवस्थामा फेला पारिएको र उनले ब्रेथलाइजर परीक्षण गर्न माने पनि त्यसमा रक्सीको मात्रा नदेखिएको जानकारी दिए । यद्यपि, उनले पिसाब परीक्षण गर्न अस्वीकार गरेपछि उनलाई पक्राउ गरिएको थियो । यो दुर्घटना दिउँसो २ बजेभन्दा केही समयअघि वुड्स बस्ने जुपिटर आइल्याण्ड नजिकै भएको थियो ।
वुड्सलाई दिउँसो ३ बजेतिर स्टुआर्टस्थित काउन्टी जेलमा लगिएको थियो । राज्यको कानुन अनुसार न्यूनतम समय सीमा पूरा गरी आठ घण्टापछि उनलाई धरौटीमा छोडिएको बुडेन्सिएकले बताए । दुर्घटनामा कुनै चोट नलागेका वुड्सलाई जेलमा अन्य कैदीभन्दा छुट्टै राखिएको थियो ।
प्रतिघण्टा ४८ किलोमिटर (३० माइल) को गति सीमा भएको दुई लेनको सडकमा वुड्सले एउटा प्रेसर क्लिनर ट्रकलाई उछिन्ने प्रयास गरेका थिए । अधिकारीहरूले वुड्सको गाडीको वास्तविक गति कति थियो भन्ने कुरा यकिन गर्न सकेका छैनन् । ट्रकलाई उछिन्ने क्रममा ठक्करबाट बच्न खोज्दा वुड्सको ल्यान्ड रोभर ट्रकको पछाडिको भागमा ठोक्किएर चालक बस्ने पट्टिको भागबाट पल्टिएको थियो । दुर्घटनापछि उनी आफैँ घस्रिँदै बाहिर निस्किएका थिए ।
शेरिफका अनुसार वुड्सले सहयोग त गरिरहेका छन् तर उनले आफू दोषी देखिने गरी कुनै कुरा बोलेका छैनन् । उनले पिसाब परीक्षण गर्न अस्वीकार गर्ने अधिकार वुड्ससँग सुरक्षित रहेको र अधिकारीहरूले अब उनी के कारणले लठ्ठिएका थिए भन्ने ठोस प्रमाण पाउन नसक्ने बताए ।
५० वर्षीय वुड्स रक्सीबाहेक अन्य पदार्थको नशामा सवारी चलाएको आरोपमा पक्राउ परेको यो दोस्रो पटक हो । सन् २०१७ मा पनि उनी आफ्नो गाडीको स्टेयरिङमा निदाइरहेको अवस्थामा फेला परेका थिए । त्यो बेला उनले दुखाइ कम गर्ने औषधिको गलत मिश्रणका कारण त्यस्तो भएको बताएका थिए । त्यतिबेला उनले लापरवाहीपूर्वक गाडी चलाएको अभियोग स्वीकार गरेका थिए ।
वुड्स सवारी दुर्घटनामा परेको यो चौथो पटक हो । यसअघि फेब्रुअरी २०२१ मा लस एन्जलसमा उनको एसयूभी सडकबाट तल खसेको थियो । सो दुर्घटनामा उनको खुट्टा र गोलीगाँठामा गम्भीर चोट लागेको थियो । पछि वुड्सले डाक्टरहरूले खुट्टा नै काट्नुपर्ने अवस्थाबारे सोचेको बताएका थिए ।
आफ्नो गल्फ खेल जीवनका क्रममा उनले देब्रे घुँडा र ढाडमा पनि पटक–पटक चोट व्यहोरेका छन् । ढाडको धेरै पटक शल्यक्रिया गरेपछि मैदान फर्किएका वुड्सले सन् २०१९ को मास्टर्स जितेर आफ्नो १५ औँ मुख्य उपाधि हात पारेका थिए । पीजीए टुरमा उनले जितेका ८२ वटा उपाधि साम स्निडको कीर्तिमानसँग बराबर छ । लस एन्जलसको दुर्घटनापछि उनले ११ वटा प्रतियोगिता खेलेका छन् तर कुनैमा पनि बिजेताको नजिक पुग्न सकेका छैनन् ।
अप्रिल ९ बाट सुरु हुने मास्टर्स प्रतियोगिता खेल्न आफू फिट छु कि छैन भन्ने निर्णय गर्ने तयारीमा रहेकै बेला वुड्स पक्राउ परेका हुन् । यसका साथै सन् २०२७ मा आयरल्याण्डमा हुने राइडर कपमा अमेरिकी टोलीको कप्तान बन्ने वा नबन्ने भन्ने निर्णय गर्न पनि उनलाई केही दिन मात्र बाँकी थियो ।
गएको सेप्टेम्बरमा ढाडको सातौँ शल्यक्रिया पछि उनी गल्फमा फर्किने प्रयास गरिरहेका थिए । उनले पछिल्लो पटक सन् २०२४ को ब्रिटिश ओपन खेलेका थिए । सन् २०२५ को मार्चमा खुट्टाको नसा च्यातिएपछि उनी पूरै सिजन खेलबाट टाढा रहेका थिए ।
खेलमा फर्किनेबारे सोधिएको प्रश्नमा गत महिना उनले भनेका थिए, ‘म प्रयास गर्दैछु । ढाडको हड्डी जोड्ने र फेर्ने काम निकै चुनौतीपूर्ण छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्