नेभिगेशन
खेलकुद

दर्शकविहीन पाकिस्तानी सुपर लिग

लाहोर । पाकिस्तान क्रिकेट बोर्डले पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण केवल दुई सहरमा आयोजना गर्ने निर्णय गरेको छ । तर सबैभन्दा महŒवपूर्ण कुरा के हो भने, यो पूरा प्रतियोगिता दर्शकविहीन हुनेछ । 
यसको अर्थ, क्रिकेट समर्थकहरूलाई रंगशालामा प्रवेश गर्न बिल्कुलै अनुमति दिइने छैन । पीएसएल पाकिस्तान क्रिकेटको एक महत्वपूर्ण ब्रान्ड हो, जुन हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ । दस वर्ष पूरा गरिसकेपछि अब यो नयाँ चरणमा प्रवेश गर्दैछ । यसपटक प्रतियोगिता मार्च २६ देखि शुरु भइसकेको छ भने मे ३ सम्म खेल हुनेछ ।
यसअघि सार्वजनिक गरिएको तालिका अनुसार ४४ खेल कराँची, लाहोर, रावलपिण्डी, मुल्तान, फैसलाबाद र पेशावर गरी छ सहरमा हुने योजना थियो । पेशावर र फैसलाबाद पहिलो पटक पीएसएलमा समावेश भएका थिए । तर वर्तमान असाधारण परिस्थितिलाई ध्यानमा राख्दै अब सबै खेल कराँची र लाहोरमा मात्र आयोजना गरिनेछ । दुवै सहरले २२–२२ खेल आयोजना गर्नेछन् । 
सबैभन्दा ठूलो निर्णय भनेको कुनै पनि खेलमा दर्शकलाई रंगशालामा प्रवेश नदिने हो । अर्थात्, यसपटक पीएसएल पूर्ण रूपमा बन्द ढोकाभित्र (क्लोज्ड डोर) आयोजना हुनेछ । साथै, प्रतियोगिता कुनै औपचारिक उद्घाटन समारोहबिना सुरु हुने भएको छ । 
यस संस्करणमा आठ टोली सहभागी छन्, जसमा हैदराबाद र रावलपिण्डीका टोली पहिलो पटक समावेश भएका छन् । मुल्तान सुल्तान्स नयाँ मालिकले खरिद गरेका छन् । यी टोलीहरू लिलामीमार्फत ठूलो रकम तिरेर प्राप्त गरिएका हुन् । 
यो दोस्रो पटक हो, जब पीएसएल दर्शकविहीन रूपमा खेलिँदैछ । यसअघि कोरोना महामारीका बेला पनि दर्शकलाई रंगशालामा आउन अनुमति दिइएको थिएन । 
पाकिस्तान क्रिकेट बोर्डका अनुसार यो निर्णय सरकारको निर्देशनअनुसार लिइएको हो, जसले हालको असामान्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न कडाइका उपाय अपनाउन भनेको छ । खर्च घटाउने उद्देश्यले पनि यस्तो निर्णय गरिएको हो । अहिले देशमा इन्धन आपूर्ति समस्याका कारण विद्यालयहरू बन्द छन् र ‘वर्क फ्राम होम’ नीति लागू गरिएको छ । 
स्मार्ट लकडाउन लागू हुन सक्ने चर्चा भए पनि यसबारे आधिकारिक घोषणा भने भइसकेको छैन । बोर्डका अध्यक्ष मोहसिन नक्वीका अनुसार स्रोतको दुरुपयोग हुन नदिन र आवागमन सीमित गर्न यस्तो निर्णय गरिएको हो । उनले प्रतियोगिताको पछिल्लो चरणमा दर्शकलाई अनुमति दिन सकिने सम्भावना भने खुला राखेका छन् । 
दर्शक नहुँदा फ्रेन्चाइज टोलीहरूलाई आर्थिक असर पर्ने भएकाले त्यसको क्षतिपूर्ति पाकिस्तान क्रिकेट बोर्डले गर्ने जनाएको छ । किनभने टिकट बिक्रीबाट आउने आम्दानीको ठूलो हिस्सा ती टोलीहरूलाई जाने गर्छ । 
पूर्व टेस्ट क्रिकेटर हारुन राशिदले यो निर्णयलाई उचित ठानेका छन् । उनका अनुसार परिस्थितिले बाध्य बनाउँदा यस्ता कडा निर्णय लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय अवस्था, इन्धनको मूल्यवृद्धि र व्यवस्थापनका चुनौतीका कारण प्रतियोगितालाई धेरै सहरमा आयोजना गर्नु महँगो र जटिल हुने थियो । 
यद्यपि, नयाँ टोलीहरूले ठूलो लगानी गरेकाले प्रतियोगिता कुनै न कुनै रूपमा सञ्चालन हुनु आवश्यक रहेको उनी बताउँछन् । दर्शक नआए पनि प्रसारण र प्रायोजनमार्फत केही आम्दानी हुने अपेक्षा गरिएको छ । 
दर्शक प्रवेशमा रोक लगाइएपछि क्रिकेट समर्थकहरू निराश भएका छन् । हरेक वर्ष आफ्ना मनपर्ने खेलाडीलाई मैदानमै हेर्न उत्साहित हुने दर्शकले यसपटक सबै खेल टेलिभिजनमार्फत मात्र हेर्नुपर्ने भएको छ । 
विशेषगरी पेशावर र फैसलाबादका समर्थकहरू बढी निराश भएका छन् । लामो प्रतीक्षापछि यी सहर पीएसएलमा समावेश भए पनि अन्तिम समयमा खेल हटाइएपछि उनीहरूको उत्साह खिन्नतामा परिणत भएको छ । 
यसैबीच, केही विदेशी खेलाडी पीएसएल छाडेर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी भएका छन् । जिम्बाब्वेका ब्लेसिङ मुजारबानी र श्रीलंकाका दासुन शनाकाले अन्तिम समयमा पीएसएलको सम्झौता तोडेर आईपीएल रोजेपछि पाकिस्तान क्रिकेट बोर्डले उनीहरूमाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । 
यो निर्णयप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । कतिपयले यसलाई परिस्थितिअनुसार उचित भनेका छन् भने केहीले दर्शकविहीन प्रतियोगिताले पीएसएलको आकर्षण घटाउने भन्दै आलोचना गरेका छन् । उनीहरूका अनुसार यस्तो अवस्थामा प्रतियोगिता स्थगित गरेर पछि उपयुक्त समयमा आयोजना गर्नु उचित हुने थियो ।
यसैगरी यो खेलमा डिफेन्डिङ च्याम्पियन लाहोर कलन्दर्स र पुरानो प्रतिद्वन्द्वी कराँची किङ्सबीचको खेलको अन्तिम ओभरमा सबैको ध्यान केन्द्रित थियो । कराँची किङ्सलाई जितका लागि १४ रन आवश्यक थियो र अन्तिम ओभर हारिस रउफले फ्याँक्ने तय थियो । तर ओभर सुरु हुनु अघि भएको एक घटनाले सबैलाई अचम्ममा पारेको थियो । 
अन्तिम ओभर सुरु हुनु अघि टेलिभिजन स्क्रिनमा देखिएको दृश्यमा लाहोरका कप्तान शाहिन अफ्रिदी, हारिस रउफ र फखर जमान एकै ठाउँमा उभिएको देखिन्छ । शाहिन अफ्रिदीले बलरको क्याप अम्पायरलाई दिएका थिए भने बल फखर जमानको हातमा थियो । उनले केही समय बल आफूसँग राखेर हारिस रउफलाई दिएका थिए । शाहिन मुस्कुराउँदै आफ्नो स्थानतर्फ फर्किँदै गर्दा अम्पायर फैसल अफ्रिदीले हारिससँग बल मागेका थिए । 
त्यसपछि मैदानमा जे भयो, त्यसले सबैलाई झस्कायो । अम्पायरले बल जाँच गरे र अर्का अम्पायरसँग परामर्श गरेपछि कराँची किङ्सलाई पाँच पेनाल्टी रन प्रदान गरे । यसले बलको अवस्था परिवर्तन गरिएको संकेत गरेको थियो । 
त्यस समय क्रिजमा रहेका कराँचीका ब्याटर आजम खान र खुशदिल शाहलाई नयाँ बल छनोट गर्ने अनुमति दिइयो । खेलपछि प्रस्तुतिकरण कार्यक्रममा कप्तान शाहिन अफ्रिदीसँग बल परिवर्तनबारे सोध्दा उनले किन पाँच पेनाल्टी रन दिइयो भन्नेबारे आफू स्पष्ट नभएको बताए । 
खेलपछि पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा फखर जमानलाई पीएसएल आचारसंहिता अन्तर्गत बलको अवस्था परिवर्तन गरेको आरोपमा लेभल–३ उल्लङ्घनको दोषी ठहर गरिएको पुष्टि गरिएको छ । फखर जमान म्याच रेफ्री रोशन महानामासमक्ष उपस्थित भए पनि उनले आफूविरुद्धको बल ट्याम्परिङ आरोप अस्वीकार गरेका छन् । 
यस विषयमा ४८ घण्टाभित्र अनुशासनात्मक सुनुवाइ हुने बताइएको छ, जहाँ भिडियो प्रमाण प्रयोग गरिनेछ र त्यसपछि अन्तिम निर्णय सुनाइनेछ । आरोप पुष्टि भएमा जमानले पीएसएल प्राविधिक समितिमा अपिल गर्न ४८ घण्टाको समय पाउनेछन् । 
लेभल–३ उल्लङ्घनमा पहिलो पटक दोषी ठहरिएमा खेलाडीलाई कम्तीमा एकदेखि बढीमा दुई खेलसम्म प्रतिबन्ध लगाउन सकिन्छ । 
यस घटनापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ । जमानले केही सेकेन्डमै यस्तो के गरे कि प्रतिबन्धको कुरा उठेको हो भन्ने प्रश्नहरु गरिएका छन् ? अर्कोतर्फ, कतिपयले यदि बलसँग छेडछाड भएको हो भने त्यसमा अन्य खेलाडी वा कप्तानको जानकारीबिना सम्भव नहुने तर्क गरेका छन् । 
क्रिकेटमा बलसँग छेडछाड गर्ने विभिन्न तरिका प्रयोग हुँदै आएका छन् । धारिलो वस्तु प्रयोग गरी बलको सतह बिगार्ने, बोतलको ढक्कन प्रयोग गर्ने जस्ता घटनाहरू विगतमा देखिएका छन् । 
सन् १९९४ मा इंग्ल्यान्डका माइक एथरटनले दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा पकेटमा रहेको धुलो प्रयोग गरेर बलसँग छेडछाड गरेका थिए । सन् २००६ मा पाकिस्तान र इंग्ल्यान्डबीचको ओभल टेस्टमा भएको विवाद चर्चित रह्यो । 
सन् २०१० मा पाकिस्तानका शाहिद अफ्रिदीले अस्ट्रेलियाविरुद्ध बललाई मुखमा राखेर चबाएको घटना पनि चर्चित बन्यो, जसका कारण उनीमाथि दुई टी–२० अन्तर्राष्ट्रिय खेलको प्रतिबन्ध लगाइएको थियो । 
सन् २०१८ मा अस्ट्रेलियाका क्यामरन ब्यानक्रफ्ट स्यान्डपेपर प्रयोग गरेर बलसँग छेडछाड गर्दै गर्दा क्यामेरामा कैद भएका थिए । “स्यान्डपेपरगेट” नामले चिनिएको उक्त काण्डमा स्टिभ स्मिथ र डेभिड वार्नरसमेत संलग्न पाइएका थिए र उनीहरूलाई कडा सजाय दिइएको थियो । 
यसैबीच, खेलअघि टोली होटलमा भएको अर्को घटनाले पनि लाहोर कलन्दर्सलाई चिन्तित बनाएको छ । टोलीका सम्पर्क अधिकृतले केही आफन्तलाई खेलाडी सिकन्दर रजासँग भेट गराउन अनुमति मागेका थिए । अनुमति नपाए पनि उनीहरूलाई कप्तान शाहिन अफ्रिदी र सिकन्दर रजाको कोठामा लगिएको बताइएको छ । 
यस घटनाबारे लाहोरका डीआईजी अपरेशन्सले पीएसएलका प्रमुख कार्यकारी अधिकृत सलमान नसीरलाई औपचारिक पत्र लेख्दै छानबिन गर्न निर्देशन दिएका छन् । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्