नेभिगेशन
अर्थतन्त्र

मध्यपूर्व युद्धको असर नेपालीको भान्सामा

बढ्न थाल्यो महँगी

काठमाडौं । मध्यपूर्व युद्धको असर नेपालीको भान्सामा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मुद्रास्फीति (महँगी) बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो ।
यसअघि कात्तिक–मंसिरमा मुद्रास्फीति तल्लो बिन्दुमा थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमशः ३.३४ र ३.९७ प्रतिशत थियो ।
गत ८ महिनाको औसत मुद्रास्फीति २.१३ प्रतिशत छ । अघिल्लो आवमा यस्तो औसत मुद्रास्फीति ४.७२ प्रतिशत थियो । यस अवधिमा तरकारीको ११.४९ प्रतिशत, घिउ तथा तेल ९.८६ र फलफूलको ९.६३ प्रतिशत बढेको छ । त्यस्तै दाल तथा गेडागुडीको ३.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.१८ र मरमसलाको २.०३ प्रतिशत गिरावट आएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २२.८१ प्रतिशत, शिक्षा ७.४६, मदिराजन्य पेय पदार्थ ७७, कपडाजन्य तथा जुत्ताचप्पल ४.७३ र सुर्तीजन्य पदार्थको ३.५७ प्रतिशत बढेको छ । तर, बीमा तथा वित्तीय सेवाको ०.०३ प्रतिशत घटेको छ ।
ग्रामीण भेगको ३.०६ र सहरी भेगको ३.८२ प्रतिशतले मुद्रास्फीति बढेको छ । प्रदेशगत हेर्दा कोशीको ३.९६, मधेस ४.९५, बागमती ३.३१, गण्डकी २.८७, लुम्बिनी ४.२१, कर्णाली २.२१ र सुदूरपश्चिमको २.२५ प्रतिशत छ ।

रेमिट्यान्स आप्रवाह १४ खर्ब
चालु आर्थिक वर्ष २०८२–८३ को आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिट्यान्स १४ खर्ब नाघेको छ । गत आर्थिक वर्ष २०८१–८२ को यही अवधिमा भने १० खर्ब ५२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
गत आर्थिक वर्षको तुलनामा रेमिट्यान्स ३७.६६ प्रतिशतले बढेको हो । फागुन एक महिनामा मात्रै एक खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रिएको हो । माघ एक महिनामा भने एक खर्ब ९८ अर्ब रूपैयाँ भित्रिएको थियो । साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।
आठ महिनामा आठ अर्ब ७० करोड रूपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत वर्षको यही अवधिमा ६ अर्ब ६२ करोड रूपैयाँ बाहिरिएको थियो । यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि १.६७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यही अवधिका पाँच लाख ३४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख २५ हजार यस्तो स्वीकृति लिएका छन् । फागुनमा मात्रै वैदेशिक रोजगारीको लागि अनुमति लिनेको संख्या ५३ हजार छ ।
विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब
विदेशी मुद्रा सञ्चिति रकम ३४ खर्ब १३ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय स्थितिअनुसार फागुन मसान्तसम्मको मुद्रा सञ्चितिले हालकै आयातलाई आधार मान्दा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।
असार मसान्तसम्मको तुलनामा चालु आवको फागुनसम्म आइपुग्दा नै मुद्रा सञ्चिति २७.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत असार मसान्तसम्म मुलुकसँग २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर विदेशी मुद्रा सञ्चिति थियो ।
अमेरिकी डलरमा हाल मुलुकसँग भएको मुद्रा सञ्चिति २३ अर्ब ८ करोड डलर बराबर हो । अमेरिकी डलरमा मुद्रा सञ्चिति ८ महिनामा १८.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकका अनुसार फागुनसम्म रहेको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत हो ।

शोधनान्तर साढे ६ खर्ब
चालु आर्थिक वर्ष २०८२÷८३ को ८ महिना (साउन–फागुन) मा शोधनान्तर स्थित ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमात्र थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा पुगेको हो ।
निश्चित समय अवधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
अमेरिकी डलरमा अघिल्लो वर्ष यसै अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ४ अर्ब ६१ करोड बचतमा छ । यस अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । अघिल्लो आव १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ८८ करोडले बचतमा छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड छ । गत वर्ष खुद पुँजीगत ट्रान्स्फर ६ अर्ब ४१ करोड थियो । प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ८४ करोड रुपैयाँबराबर भित्रिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्