नेभिगेशन
अर्थतन्त्र

आईपीओ पाइपलाइनमा ३१ जलविद्युत् कम्पनी

काठमाडौं । जलविद्युत् उत्पादनको क्षेत्रमा स्वदेशी पुँजी परिचालन गरी लगानी गर्दै आएका ३१ वटा जलविद्युत् कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएर आईपीओ निष्कासनको पालो पर्खिरहेका छन् । जलविद्युत् कम्पनीहरूले सामूहिकरूपमा १५ अर्ब १४ करोड रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्यका साथ आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका हुन् ।
जलविद्युत् कम्पनीहरूले स्वपुँजी लगानीबापतको पुँजी संकलनका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् । आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीमा सबैभन्दा बढी शेयर नीलगिरी खोला हाइड्रोपावर कम्पनीले निष्कासन गर्दैछ । यो कम्पनीले ७९ लाख २० हजार कित्ता शेयरमार्फत ७ अर्ब ९२ करोड रुपैयाँबराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, सिउरी न्यादी पावरले ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता शेयर निष्कासन गरी ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४ सय रुपैयाँ जुटाउने योजना बनाएको छ । मडम खोला हाइड्रोपावरले २६ लाख कित्ता शेयरमार्फत २ अर्ब ६० करोड रुपैयाँ संकलन गर्दैछ भने पुवा खोला–वन हाइड्रोपावरले २० लाख ७० हजार कित्ता शेयर जारी गरी २ अर्ब ७ करोड रुपैयाँ उठाउने तयारी गरेको छ ।
यस्तै, हेबिट्याट पावर कम्पनी (१ अर्ब ४२ करोड रुपैयाँ), युनाइटेड मेवा खोला हाइड्रोपावर (१ अर्ब २३ करोड रुपैयाँ), आशुतोष ऊर्जा (१ अर्ब २० करोड रुपैयाँ) र मेवा डेभलपर्स (१ अर्ब १२ करोड रुपैयाँ) ले पनि आईपीओ निष्कासन गर्न सेबोनमा आवेदन दिएर पालो कुरिरहेका छन् ।
मध्यम स्तरका आयोजनामध्ये भिजन इनर्जी एन्ड पावरले ८३ करोड र इलेक्ट्रो पावर कम्पनीले ८१ करोड २५ लाख रुपैयाँबराबरको शेयर निष्कासन गर्दैछन् । पिपल्स इनर्जीले ६६ करोड र नम्बुर हिमालय हाइड्रोपावरले ६५ करोड ५३ लाख ५२ हजार ३६ रुपैयाँबराबरको ३० लाख ६ हजार २०२ कित्ता शेयर बजारमा ल्याउने तयारी गरेका छन् ।
यसैगरी, हिम पर्वत हाइड्रोपावरले ५९ करोड १५ लाख रुपैयाँ, झ्यामोलोंग्मा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५१ करोड रुपैयाँ र म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर जारी गर्नेछन् । संयुक्त ऊर्जा र काबेली हाइड्रोपावर कम्पनीले क्रमशः ४१ करोड ६० लाख र ४१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएका छन् ।
यस्तै, शेयर बजारमा प्रवेश गर्न लागेका अन्य कम्पनीहरूमा अर्बिट इनर्जी (४० करोड रुपैयाँ), आरती पावर कम्पनी (३६ करोड रुपैयाँ) र लोअर एर्खुवा हाइड्रोपावर कम्पनी (२८ करोड ५ लाख ७५ हजार रुपैयाँ) रहेका छन् । त्यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्टले २५ करोड ८० लाख, एपेक्स मकालु हाइड्रोपावर र गौरीशंकर पावर डेभलपमेन्ट दुवैले समान २४ करोड रुपैयाँबराबरको शेयर निष्कासन गर्नेछन् ।
साना आयोजनाहरूतर्फ दूधपोखरी चेपे हाइड्रोपावर (२० करोड २० लाख), हिल्टन हाइड्रो एनर्जी (१७ करोड), रिक्छेत जलविद्युत् कम्पनी (१६ करोड ८९ लाख ५० हजार) र चम्पावती हाइड्रोपावर (१६ करोड) का आईपीओ आउने क्रममा छन् ।
सूचीको अन्त्यतिर हिम रिभर पावर (१३ करोड ३० लाख), ह्वाइट लोटस पावर (१२ करोड १९ लाख), सेन्चुरी इनर्जी (८ करोड २५ लाख ३३ हजार) र एल.सी. इनर्जी (६ करोड) रहेका छन् । जलविद्युत्् क्षेत्रका यी ३१ कम्पनीहरूले धितोपत्र बोर्डबाट स्वीकृति पाएलगत्तै प्राथमिक शेयर निष्कासन गर्नेछन् । पाइपलाइनमा रहेकामध्ये अधिकांश जलविद्युत् कम्पनी लामो समयदेखि प्राथमिक शेयर निष्कासनको अनुमतिको पखाईमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्