नेभिगेशन
उपत्यका

ललितपुरमा धूम्रपान निषेध

ललितपुर । ललितपुरका सार्वजनिक स्थानहरूमा धूमपान सेवन निषेध गरिने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र ललितपुर महानगरपालिकाको संयुक्त प्रयासमा ललितपुर क्षेत्रका सार्वजनिक तथा खुला स्थानहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरण निषेध गर्ने नियम कार्यान्वय गर्न थालिएको हो ।
सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८ लाई कार्यान्वयन गर्न धूमपान सेवन तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरणलाई कडाइ गर्न लागिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८ ले सार्वजनिक स्थानहरूमा धूमपान बिक्रीवितरण तथा सेवन निषेध गरेको छ ।
जनस्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा. गेलालका अनुसार प्रमुख जिल्ला अधिकारी, महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एक साताअघि बैठक बसेर सार्वजनिक स्थानमा सुर्तीजन्य बिक्रीवितरणदेखि धूम्रपान रोक्नेसम्मको निर्णय भएको थियो । सो निर्णय कार्यान्वयन गर्नका लागि जनस्वास्थ्य कार्यालयले नगर प्रहरीको सहायतासमेत माग गरेको छ । सुरुमा दुई महिना जनचेतना र सूचना जारी गरिने छ । ‘सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन कडाइका साथ कार्यान्वयन हुन्छ, पहिलो चरणमा दुई महिनासम्म जनचेतना र अनुरोध गर्छौं तर दुई महिनापछि आउँदो असारदेखि जरिवानासहित कारबाही गर्छौं,’ डा. गेलालले भने, ‘प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना र पटक–पटक अटेरी गरेमा त्यस सार्वजनिक ठाउँमा आउन रोक लगाउँछौँ । खुला र सार्वजनिक ठाउँहरूमा एक सातापछि धूम्रपान निषेध हुनेछ, सुरुमा हामीले ललितपुर महानगरपालिका–३ वटा यो अभियान थाल्छौं । त्यसपछि तीनवटै पालिकाका सबै सार्वजनिक स्थानहरूमा धूम्रपान सेवनमा कडाइ गर्छौं ।’ उनका अनुसार स्कुल र स्वास्थ्य संस्थाका वरिपरि पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने तयारी गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्