नेभिगेशन
उपत्यका

आजदेखि १२ देशमा श्रम स्वीकृति पुनः खुला

काठमाडौं । सरकारले खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति पुनः खुला गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण २०८२ फागुन १७ गते स्थगन गरिएको श्रम स्वीकृति आजदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायलका लागि श्रम स्वीकृति खुला गरेको जनाएको छ।

मन्त्रालयका अनुसार इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषद्बाट भएको निर्णयअनुसार नै व्यवस्था लागू हुने छ।

श्रम स्वीकृति खुला भएसँगै व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसम्बन्धी सबै प्रक्रिया पूर्ववत् अवस्थामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
यसअघि युद्धका कारण ती मुलुकमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरिएको थियो।

परराष्ट्र मन्त्रालयअन्तर्गतको उच्चस्तरीय आपतकालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले खाडी तथा पश्चिम एसियाली मुलुकमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेपछि सोही आधारमा मन्त्रालयले निर्णय गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्