नेभिगेशन
उपत्यका

सार्वजनिक यातायातलाई काठमाडौंमा अब गोंगबु अनिवार्य बिसौनी

काठमाडौं । काठमाडौं महानगरमा यात्रुवाहक सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै चलाउन पाइने भएको छ । यसरी सवारीसाधन सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले यातायात व्यवसायीलाई तीनदिने अल्टिमेटम दिएको हो ।
विगतमा पनि पटक–पटक सूचना जारी गर्दा नयाँ बसपार्कले सबै सवारीलाई आकर्षित गर्न सकेको छैन । गाडी जथाभावी लामा तथा छोटा  दूरीका सवारी चलाउँदा काठमाडौंको सवारी सञ्चालन प्रणाली अव्यवस्थित बनेको छ । त्यसमा सुधारका लागि महानगरपालिकाले कडाइ गर्न लागेको हो । 
महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामा र छोटा दूरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न सोमबार काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।
बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
बैठकमा यातायात आवागमनको सहजता र सहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन गर्न निर्देशन दिए ।
बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले सहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानुपर्ने बताएका थिए । प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेको संख्यामा कमी आएको जानकारी गराएका थिए । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनुपर्नेमा जोड दिएका थिए । सार्वजनिक सवारीसाधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
डीएसपी सुनिलजंग शाहका अनुसार काठमाडौंबाट दैनिक औसतमा सात सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौंमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार नयाँ बसपार्कभित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी सञ्चालन हुन्छन् । लामो दूरीको एउटा सवारीसाधन नौ घण्टा पार्किङ गरेको ४५० रुपैयाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटा दूरीका माइक्रोबसको २२० रुपैयाँ लिने गरिएको मल्लले बताए । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारीसाधन व्यवस्थापन गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका