नेभिगेशन
उपत्यका

स्वयम्भू क्षेत्रबाट ३ जनाको उद्धार

काठमाडौं । स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षिया महिलाको ठेगाना खुलेको छैन । उनको अवस्था सामान्य छ । ७० वर्षका पुरुषको ठेगाना भने लमजुङ रहेको खुलेको हो । उनको अवस्था पनि सामान्य नै छ । अर्का ५५ वर्षका पुरुषको घर नुवाकोट भएको खुलेको छ । उनको हातमा चोट लागेको छ ।
काठमाडौंलाई सडक सहयोगापेक्षी मानव मुक्त बनाउने कार्यक्रम अन्तर्गत अहिले काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र मानव सेवा आश्रमसँगको सहकार्यमा सडक सेवा अन्तर्गत सडकमा बेसहारा जीवन विताइरहेका व्यक्तिहरुको उद्धार गरिरहेको छ । उद्धार कार्यमा माग्न बसेका कतिपय व्यक्तिहरु भने उद्धारकर्ताको आँखा छलेर दायाँवायाँ लाग्ने गरेका छन् । त्यसरी भाग्ने व्यक्तिहरु सहयोगापेक्षी नभई माग्ने कामलाई पेशा बनाएका व्यक्ति हुन् । 
सार्वजनिक चोक, गल्ली, पार्क, सम्पदा स्थल तथा मानिसहरुको बाक्लो आवतजावत हुने ठाउँमा विभिन्न उमेर समूह, लिंग र अवस्थाका मानिसहरु पैसा मागिरहेको भेटिन्छन् । यसरी पैसा माग्नेहरुलाई मानवोचित व्यवस्थापन गरेर सडकलाई माग्ने व्यक्तिहरु मुक्त बनाउनु उद्धार कार्यबाट प्राप्त गरिने नतिजा हो । सडकमा रहेका व्यक्तिहरुको उद्धार गर्नु, स्क्रिनिङ गर्नु र अवस्थाका आधारमा पारिवारिक तथा सामाजिक पुनःस्थापना गर्नु वा आश्रममा आश्रय प्रदान गनु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । यसअघि पशुपति क्षेत्रबाट ६ जना, कालीमाटीबाट २ जना, टेकुबाट १ जनालाई उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्