नेभिगेशन
उपत्यका

धूमपान नियन्त्रण गर्न स्वयंसेवक

काठमाडौं । सार्वजनिक स्थलमा धूमपान नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले स्वयमसेवक परिचालन गर्ने भएको छ । महानगर र नेपाल प्रहरीबिच भएको सहकार्यअन्तर्गत धूमपान नियन्त्रण र जनचेतनालाई तीव्र बनाउन यो अवधारणा अघि सारिएको बताइएको छ । 
महानगरकी कार्यवाहक मेयर सुनिता डङ्गोलले यस अभियानले धूमपान नियन्त्रणसँगै युवालाई सामाजिक अभियानमा जोड्ने धारणा व्यक्त गरेकी छिन् । महानगरले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपियाँ जरिबाना गर्दै आएको थियो ।
कानुन अनुसार नेपालमा सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न मनाही गरिएको छ । सरकारले स्वास्थ्य, आर्थिक र सामाजिक हानि न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ लागू गरेको छ । उक्त ऐनमा सार्वजनिक स्थल, सवारीसाधन र कार्यस्थलमा धूमपान निषेध गरिएको छ । यसै गरी १८ वर्षमुनिकालाई धूमपान बिक्रीमा रोक लगाउने, सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक तस्बिर राख्नुपर्ने जस्ता कडा नियमको प्रावधान लागू गरेको छ । विद्यालय, स्वास्थ्य संस्था, बालगृह, होटेल, सरकारी कार्यालय, सार्वजनिक सवारीसाधन, सिनेमा हल तथा विमानस्थल जस्ता सार्वजनिक स्थलमा धूमपान र सुर्ती सेवन पूर्ण रूपमा बन्देज गरिएको छ ।
यसै गरी बिक्री वितरणमा १८ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था छ । सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाउने व्यवस्था गरिएको छ । कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलमा धूमपान गरेमा सयदेखि पाँच सय रुपियाँसम्म जरिबानाको व्यवस्था गरिएको छ । 
गत भदौदेखि नै महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई जरिबाना तिराउने व्यवस्था लागू गरेको हो । अनुगमनको अभाव, जनशक्ति कमी र निरन्तरता नहुँदा अभियान अपेक्षा अनुसार प्रभावकारी बन्न सकेको थिएन । महानगरका स्वास्थ्य शाखा प्रमुख दीपक केसीले नीति र कानुन भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको बताउँछन् । अब स्वयंसेवकमार्फत नियमित अनुगमन र समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्ने योजना बनाइएको उनले बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी धूमपानविरुद्धको अभियान नियन्त्रण गर्न धूमपानसम्बन्धी कानुनको कडाइ साथ पालना हुनुपर्ने बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा धूमपानका कारण हुने रोगबाट बर्सेनि ३९ हजार जनाको मृत्यु हुने गरेको छ । यस्ता रोगको उपचारमा मात्र राज्यले वार्षिक करोडौं रुपियाँ खर्च हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका
साताको लोकप्रिय