नेभिगेशन
प्रदेश

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा

कैलाली, १९ भदौ : यहाँको गोदावरी नगरपालिकाका निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रिएका छन् । 

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले सडकमै वडा कार्यालय सञ्चालन गरेको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्रप्रसाद भट्टले बताए ।

वडाध्यक्षहरूले एडभेन्चर थिगिम जेभी र तेडी निर्माण सेवाले सडक निर्माणमा चरम लापरबाही गरेकाले सांकेतिक विरोधस्वरुप वडा कार्यालय सडकबाट सञ्चालन गरेको वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए । 

उनले दुई दिनभित्र सुनुवाई नभए अत्तरिया चौराहामा विरोधका कार्यक्रम गरिने चेतावनी दिए । आन्दोलनमा स्थानीयले पनि साथ दिएका छन् । वडाध्यक्षहरूले सुरु गरेको विरोध कार्यक्रमस्थलमा प्रदेशसभा सदस्य तुलसी देवकोट, गोदावरी नगरपालिकाका नगरप्रमुख भट्ट सहभागिता जनाएका थिए । 
 
प्रदेश गौरवको आयोजना चौकीडाँडा–फल्टुडे सडक अन्तरगत सेतो पुल देखि वडा नम्बर १० को कार्यालय सम्म दुई हजार २०० सय मिटर सडक २०७७ भदौ १८ गते सो कम्पनीलाई ठेक्कामा दिइएको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेखालसम्म तीन किलोमिटर कालोपत्र गर्न २०७९ चैत १८ गते तेडी निर्माण सेवासँग सम्झौता गरिएको थियो । उक्त सम्झौताअनुसार १८ महिनामा सक्नुपर्ने काम अझै पूरा छैन ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्