नेभिगेशन
अर्थतन्त्र

वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीद्वारा सामूहिक राजीनामा

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सोमबार पत्रकार सम्मेलन आयोजना गरी संघभित्र देखिएको नेतृत्वगत समस्या, अपारदर्शी निर्णय प्रक्रिया र संस्थागत कमजोरीका कारण जिम्मेवारीमा निरन्तर रहन नसक्ने भन्दै सामूहिक राजीनामा दिएका हुन् ।
संघमा निर्वाचित ७ जना पदाधिकारीमध्ये ५ जना र १० जना सदस्यमध्ये ६ जना गरी बहुमत सदस्यहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिँजाली तथा सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का, देवी प्रसाद गिरीलगायत छन् । 
राजीनामा दिने पदाधिकारीहरूले अध्यक्षको कार्यशैली व्यक्तिगत केन्द्रित भएको, निर्णय प्रक्रिया निष्पक्ष र सामूहिक नभएको तथा संघको संस्थागत संरचना कमजोर हुँदै गएको आरोप लगाएका छन् । उनीहरूले सरकारी निकाय, व्यवसायी तथा सरोकारवालासँग आवश्यक समन्वय प्रभावकारी रूपमा हुन नसकेको तथा वैदेशिक रोजगार क्षेत्रमा काम गर्ने श्रमिकको हकहितलाई प्राथमिकता नदिइएको गुनासो पनि पत्रकार सम्मेलनमा गरेका छन् ।
राजीनामा दिएका पदाधिकारीहरूले बहुमत सदस्यको राजीनामापछि कार्यसमिति अल्पमतमा परेकाले संघ प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने अवस्था आएको बताएका छन् । उनीहरूले संघको विधानअनुसार वर्तमान कार्यसमिति विघटन गरी नयाँ निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंसहित सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय