नेभिगेशन
अर्थतन्त्र

नागढुंगा सुरुङमार्गका लागि जापानसँग थप ५ अर्ब २६ करोड ऋण सम्झौता

काठमाडौं । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका लागि जापानसँग थप ५ अर्ब २६ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्झौता गरेको छ । सुरुङमार्ग निर्माणका क्रममा प्रारम्भिक अनुमानित लागत बढेपछि आवश्यक वित्तीय स्रोत सुनिश्चित गर्न पुनः नेपाल र जापानबीच नयाँ ऋण सम्झौता भएको हो । 
अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा जापानी येन ५ अर्ब ७० करोड (५,७०० मिलियन येन) बराबरको ऋण सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत तोरु मायेदाले ‘एक्सचेन्ज अफ नोट’ तथा ‘रेकर्ड अफ डिस्कसन’ मा हस्ताक्षर गरेका छन् । यस्तै, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मात्सुजाकी मिजुकीले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सुरुङमार्ग निर्माण गर्न सुरुमा १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण सम्पन्न हुँदा लागत बढेर २१ अर्ब रुपैयाँ पुगेपछि ५ अर्ब २६ करोड रुपैयाँ बराबरको ऋण थपिएको हो । निर्माण अवधिमा विभिन्न कारणले आयोजनाको लागत बढेको मन्त्रालयको भनाइ छ । 
मूल्यवृद्धि तथा निर्माण सामग्रीको लागत बढ्नु, सुरुङ र पहुँचमार्ग निर्माणमा थप प्राविधिक कार्य आवश्यक पर्नु, डिजाइन तथा कार्यक्षेत्रमा भएका परिवर्तन, कोभिड–१९ महामारीका कारण निर्माण कार्य प्रभावित हुनु, स्थानीय स्तरमा देखिएका अवरोध तथा विनिमय दरमा आएको परिवर्तनजस्ता कारणले प्रारम्भिक लागत अनुमान संशोधन गर्नुपरेको थियो । यही कारण परियोजनाको बाँकी काम सम्पन्न गर्न थप ऋण व्यवस्थापन गरिएको हो । 
यही अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको हो । यो ऋण अत्यन्तै सहुलियतपूर्ण सर्तमा प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । ऋणको ब्याजदर १.९५ प्रतिशत कायम गरिएको छ भने परामर्श सेवा तथा प्राविधिक सहयोगका लागि प्रयोग हुने रकममा ०.५५ प्रतिशत ब्याज लाग्नेछ । यो ऋण चुक्ता गर्न २० वर्षको अवधि तोकिएको छ भने सुरुका १० वर्षसम्म मूलधन भुक्तानी गर्न नपर्ने ग्रेस अवधि प्रदान गरिएको छ ।
नागढुंगा सुरुङमार्ग आयोजनालाई नेपालको सडक पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुंगा क्षेत्रमा दैनिक हुने सवारी चाप, ट्राफिक जाम र यात्रामा लाग्ने समय घटाउने उद्देश्यले यो सुरुङमार्ग निर्माण गरिएको हो । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडक खण्डमा हुने जाम कम हुने र यातायातलाई थप सहज तथा सुरक्षित बनाउने अपेक्षा छ । 
अर्थ मन्त्रालयले जापान सरकार र जाइका नेपालका पूर्वाधार विकासका दीर्घकालीन साझेदार रहेको उल्लेख गर्दै यो सहयोगले आयोजनालाई समयमै सम्पन्न गर्न मद्दत पुग्ने जनाएको छ । नेपालमा सडक, ऊर्जा, खानेपानी, शिक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा जापानले निरन्तर सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोग गर्दै आएको छ । यो सुरुङमार्ग आगामी साउन १ देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
अहिले सुरुङमार्ग सञ्चालन गर्ने दक्ष जनशक्तिको पदपूर्तिको काम भइरहेको आयोजनाले जनाएको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनका लागि यात्रा अवधि छोटिने, इन्धन खपत कम हुने र यातायात व्यवस्थापनमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्