नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोरमा १९ अर्ब लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । 
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिपचन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंकको सहअगुवाइ र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ । 
जसमध्य ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बंैकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।   
सम्झौतापश्चात् ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समयसिमाभित्र सम्पन्न भई राज्यको उर्जा उत्पादन क्षमतामा वृद्धिहुने र निर्यात प्रवर्धनमा सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ । आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्