नेभिगेशन
अर्थतन्त्र

पशुपति सरकारीका १४० ऋणीलाई ऋण तिर्न ताकेता

काठमाडौं । समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीको ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको हो ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको जानकारी दिएको छ । सार्वजनिक सूचीमा नाम समावेश भएका तर यसअघि नै ऋण चुक्ता गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यस्तै, अझै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने र आवश्यक कानुनी कारबाही गरिने समितिले चेतावनी दिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सहकारीमा देखिएको वित्तीय समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अगाडि बढाउन ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो। समितिले सम्बन्धित सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था समस्याग्रस्त घोषणा भएपछि त्यसको सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा बचतकर्ताको हित संरक्षणका लागि समितिले विभिन्न प्रक्रिया अघि बढाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्