नेभिगेशन
अर्थतन्त्र

बबई सिँचाइ आयोजनाको गुलरिया खण्डको निर्माण तीव्र

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा बबई सिँचाइ आयोजनाअन्तर्गत नहर निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । आयोजनाले गुलरिया नगरपालिकाभित्रका साविक खैरापुर, गुलरिया, मथुरा र हरिद्वार क्षेत्रका करिब ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित नहर निर्माण गरिरहेको हो ।
बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा यसअघि नै नहर निर्माण सम्पन्न गरिसकेको आयोजनाले गत वर्षदेखि गुलरिया क्षेत्रमा निर्माण कार्य अघि बढाएको हो । पहिलो चरणमा ४ किलोमिटर मूल नहर र ११ किलोमिटर शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।
नहर निर्माणले सिँचाइ सुविधा मात्र नभई ग्रामीण सडक पहुँचमा समेत सुधार ल्याएको स्थानीयको भनाइ छ । बबई सिँचाइ आयोजनाको नहरसँगै खेतसम्म पुग्ने बाटो निर्माण भएकाले आवतजावत सहज बनेको बताउँदै सिँचाइ सुविधा उपलब्ध भएपछि खेतीपातीमा उल्लेखनीय सुधार आउने विश्वास बढेको स्थानीय खुसीराम चौधरी बताउँछन् । उनका अनुसार सिँचाइ आयोजनाको नहर सञ्चालनमा आएपछि किसानले अन्नबाली लगाउन वर्षभरि आवश्यक पानी पाउने र विभिन्न बाली उत्पादन गर्न सक्ने छन् । 
वर्षौंदेखि सिँचाइ अभावका कारण किसानले चाहेजस्तो उत्पादन लिन नसकेको तर, सिँचाइ आयोजनाको नहर सञ्चालनपछि कृषि उत्पादन बढ्नुका साथै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा बढेर गएको अर्का स्थानीय नैन सुनार बताउँछन् । 
सिँचाइ आयोजनाले पूर्वी र पश्चिमी नहर प्रणालीमार्फत काम गरिरहेको छ । पूर्वी नहरअन्तर्गत बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका तथा गुलरिया नगरपालिका–११ र १२ पर्दछन् भने पश्चिमी नहरअन्तर्गत ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका तथा गुलरिया नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र १० समेटिएका छन् ।
जिल्ला समन्वय समिति बर्दियाकी उपाध्यक्ष अमृता कुमारी यादवले समयमै वर्षा नहुँदा किसानहरू समस्यामा पर्ने गरेको बताउँदै नहरमा नियमित पानी प्रवाह भएपछि खेतीपाती सहज हुने र किसानले वर्षभरि विभिन्न बाली उत्पादन गर्न सक्ने बताइन् ।
विसं २०२४ सालदेखि अध्ययन सुरु गरिएको बबई सिँचाइ आयोजनाले बबई नदीको पश्चिम क्षेत्रमा १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ । विसं २०३५ सालमा सम्भाव्यता अध्ययन सम्पन्न भएको आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन विसं २०३८ देखि २०४० सालसम्म तयार गरिएको थियो। सोही डिजाइनअनुसार बबई नदीमुनि साइफन निर्माण गरी पश्चिम क्षेत्रमा सिँचाइ प्रणाली विकास गरिएको हो ।
अहिले यो सिँचाइ आयोजनामार्फत साइफनमार्फत करिब २५ किलोमिटर मूल नहरबाट परम्परागत कुलोहरूमा पानी उपलब्ध गराइँदै आएको छ । यसबाट करिब ८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ । बबई सिँचाइ आयोजनाका प्रमुख गोपाल शर्माले गुलरिया नगरपालिकाभित्र पश्चिमी नहर प्रणालीअन्तर्गत २८ देखि ४१ किलोमिटर खण्डसम्म मूल नहर निर्माण भइरहेको जानकारी दिए ।
मूल नहरको काम सम्पन्न भएपछि शाखा नहर निर्माणका लागि पनि ठेक्का प्रक्रिया अघि बढाइने र त्यसपछि थप ७ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा विस्तार गरिने उनले बताए । नहर निर्माण सम्पन्न भएपछि गुलरिया क्षेत्रका किसानहरूको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्