नेभिगेशन
अर्थतन्त्र

बीवाइडीका विद्युतीय गाडी कानुनअनुसार नै आयातः साइमेक्स इंक

काठमाडौं । साइमेक्स इंकले बीवाइडीका विद्युतीय गाडी कानुनअनुसार प्रक्रिया पु¥याएर आयात गरिएको स्पष्ट पारेको छ । नेपालका लागि बीवाइडी ब्रान्डको आधिकारिक वितरक साइमेक्स इंकले आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा बीवाइडीका विद्युतीय गाडी नेपाल भित्र्याइएको विषयमा विभिन्न सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा चर्चा भइरहेका बेला आफ्नो आयात प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत र पारदर्शी रहेको स्पष्ट पारेको हो ।
कम्पनीले सार्वजनिक गरेको तथ्यगत स्पष्टिकरणमा कुनै पनि प्रकारको विशेष सुविधा, अनुचित लाभ वा कर छल्ने उद्देश्यले सवारी आयात नगरिएको उल्लेख गर्दै सम्पूर्ण प्रक्रिया नेपाल सरकारका प्रचलित कानुन तथा भन्सार प्रक्रिया नियमावलीअनुसार सम्पन्न भएको दाबी गरेको छ । 
कम्पनीका अनुसार बजेट घोषणाअघि कोरला र रसुवागढी नाकामार्फत कुल एक हजार १२१ वटा बीवाइडी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास भएका छन् । तीमध्ये कोरला भन्सार कार्यालयबाट ६४९ वटा तथा रसुवा भन्सार कार्यालयबाट ४७२ वटा सवारीसाधन जाँचपास भएर नेपाल भित्रिएका हुन् ।
साइमेक्सले सार्वजनिक गरेको विवरणअनुसार कोरला नाकाबाट मे २२ देखि २७ तारिखसम्म विभिन्न चरणमा बीवाइडीको अट्टो–१ र अट्टो–२ मोडलका सवारीसाधन नेपाल भित्रिएका थिए । त्यसैगरी, रसुवा नाकाबाट अट्टो–१, अट्टो–२, अट्टो–३ तथा सिलायन–७ मोडलका सवारीसाधन मे महिनाभर विभिन्न मितिमा आयात गरिएको कम्पनीले जनाएको छ । 
यी सबै सवारीसाधनले चिनियाँ भन्सार तथा नेपाली भन्सार दुवैतर्फका आवश्यक प्रक्रिया पूरा गरी कानुनी रूपमा जाँचपास भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार हाल सार्वजनिक रूपमा चर्चा गरिएका सवारीसाधनहरू कुनै पनि अस्वाभाविक वा विशेष व्यवस्थामार्फत नभई नियमित व्यावसायिक प्रक्रिया अन्तर्गत आयात गरिएका हुन् । 
नेपालमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढ्दै गएको, ग्राहकबाट ठूलो संख्यामा अग्रिम बुकिङ प्राप्त भइसकेको तथा अन्तर्राष्ट्रिय ढुवानी तालिकाअनुसार सवारीसाधन नेपाल ल्याउनुपर्ने आवश्यकता रहेकाले ती सवारीसाधन आयात गरिएको कम्पनीले जनाएको छ । साइमेक्सले सार्वजनिक गरेको विवरणमा हालसम्म नेपाल प्रवेश नगरेका थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा रहेको उल्लेख छ । 
ती सवारीसाधन नेपाल ल्याउने प्रक्रिया भने अझै पूरा नभएको कम्पनीले स्पष्ट पारेको छ । यसबाट सार्वजनिक रूपमा चर्चा गरिएजस्तो सम्पूर्ण सवारीसाधन एकैपटक भन्सार जाँचपास गरेर नेपाल भित्र्याइएको भन्ने दाबी तथ्यसँग मेल नखाने कम्पनीको भनाइ छ ।
कम्पनीले बीवाइडीका सवारी आयातका सम्बन्धमा सरकारी निकायसँग कुनै प्रकारको मिलेमतो गरेर कर परिवर्तनबाट बच्ने प्रयास गरेको वा विशेष सुविधा प्राप्त गरेको भन्ने आरोपलाई अस्वीकार गरेको छ । ‘कुनै पनि चरणमा विशेष प्राथमिकता प्राप्त प्रक्रिया, अनधिकृत भन्सार सहुलियत वा अन्य कुनै विशेष व्यवस्थाबाट लाभ लिइएको छैन,’ कम्पनीले जारी गरेको स्पष्टिकरणमा भनिएको छ ।

साइमेक्सका अनुसार आयात प्रक्रिया बीवाइडीको उत्पादन तालिका, अन्तर्राष्ट्रिय ढुवानीको उपलब्धता, समुद्री तथा स्थलमार्ग यातायातको अवस्था, नेपाली बजारको माग र कम्पनीको मौज्दात व्यवस्थापन रणनीतिका आधारमा सञ्चालन गरिएको हो । विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै समयमै आपूर्ति सुनिश्चित गर्नुपर्ने भएकाले कम्पनीले नियमित व्यवसायिक योजना अनुसार नै सवारी आयात गरेको जनाएको छ । 
कम्पनीले आफूमाथि उठाइएका प्रश्नहरूको सम्बन्धमा कुनै पनि सरकारी निकायबाट छानबिन वा अनुसन्धान भए त्यसलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । आवश्यक परे आयातसम्बन्धी सम्पूर्ण अभिलेख, भन्सार घोषणा विवरण, ढुवानी कागजात, भुक्तानी विवरण, सीमा प्रवेश अभिलेख तथा जाँचपाससम्बन्धी स्वीकृति कागजात उपलब्ध गराउन तयार रहेको कम्पनीले जनाएको छ ।
साइमेक्सले सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै अपुष्ट सूचना र अनुमानका आधारमा समाचार प्रकाशन हुँदा व्यवसायिक प्रतिष्ठामा असर पुग्न सक्ने जनाएको छ । कम्पनीले जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सार्वजनिक बहसको आवश्यकता औँल्याउँदै आधिकारिक अभिलेख तथा सम्बन्धित निकायको जानकारीलाई आधार बनाएर मात्रै निष्कर्ष निकाल्न आग्रह गरेको छ । 
कम्पनीले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुनु वातावरण संरक्षण, पेट्रोलियम पदार्थको आयात घटाउने राष्ट्रिय लक्ष्य तथा स्वच्छ ऊर्जा प्रवद्र्धनका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गरेको छ । विद्युतीय सवारी क्षेत्रले नेपालको हरित अर्थतन्त्र निर्माण, वायु प्रदूषण न्यूनीकरण र ऊर्जा आत्मनिर्भरतामा महत्वपूर्ण योगदान दिइरहेको भन्दै यस क्षेत्रमा अनावश्यक भ्रम फैलिँदा समग्र विद्युतीय सवारी उद्योग प्रभावित हुन सक्ने कम्पनीको तर्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्