नेभिगेशन
अर्थतन्त्र

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी सेवा सञ्चालन

काठमाडौं । नेपाल र भारतबीच बैंक खाताबाट बैंक खातामै सिधै रकम पठाउन र प्राप्त गर्न सकिने अन्तरदेशीय डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल र भारतबीच सन् २०२३ मा भएको क्रस बोर्डर पेमेन्ट सम्झौताअन्तर्गत यो सेवा विकास गरी सञ्चालनमा ल्याइएको हो । 
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरले संयुक्त रूपमा उक्त सेवाको आरम्भ गरेका हुन् । डिजिटल भुक्तानी सेवा सञ्चालनमा आएसँगै नेपालमा रहेका भारतीय नागरिक तथा भारतमा रहेका नेपाली र भारतीय नागरिकले मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । 
नेपालको राष्ट्रिय भुक्तानी पूर्वाधार र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) बीचको अन्तरआबद्धता मार्फत सुरु गरिएको यो सेवाले दुई देशबीचको डिजिटल वित्तीय कारोबारलाई नयाँ चरणमा पु¥याएको छ । 
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल केही प्रमुख वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई यो सुविधा उपलब्ध गराउन थालेका छन् । ग्राहकहरूले सम्बन्धित बैंकको मोबाइल बैंकिङ एप वा कनेक्ट आईपीएसमार्फत ‘क्रस बोर्डर फन्ड ट्रान्सफर’ विकल्प प्रयोग गरी रकम पठाउन सक्नेछन् । रकम ट्रान्सफरका लागि बैंक खाता नम्बर वा मोबाइल नम्बरमा आधारित भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार हाल यो सेवा नेपालका सीमित बैंकमार्फत सञ्चालनमा आएको भए पनि क्रमशः अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरूमा समेत विस्तार गरिनेछ । विगत केही समयदेखि आन्तरिक परीक्षणमा रहेको प्रणाली सफल भएपछि सेवालाई प्रयोगकर्तामाझ उपलब्ध गराइएको हो ।
हाल नेपालबाट भारत रकम पठाउन पाउने सुविधा मुख्यतः नेपालमा काम गरिरहेका वा अस्थायी रूपमा बसोबास गरिरहेका भारतीय नागरिकलाई लक्षित गरिएको छ । उनीहरूले नेपालस्थित बैंक खाताबाट भारतमा रहेका आफ्ना परिवार, आफन्त वा साथीभाइको खातामा रकम पठाउन सक्नेछन् । 
यस्तै, भारतमा रहेका नेपाली तथा भारतीय नागरिकले पनि त्यहाँका बैंक खाताबाट नेपालस्थित बैंक खातामा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । यो सेवामार्फत नेपालबाट भारत पैसा पठाउँदा एकपटकमा अधिकतम १५ हजार भारतीय रुपैयाँ पठाउन सकिनेछ । मासिक रूपमा भने दुई लाख भारतीय रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था गरिएको छ । दैनिक सीमा सम्बन्धित बैंकको नीतिअनुसार हुन सक्ने जनाइएको छ ।
त्यसैगरी, भारतबाट नेपाल रकम पठाउँदा एकपटकमा अधिकतम दुई लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ । भारतबाट नेपाल पठाइने रकममा हाल दैनिक वा मासिक सीमा तोकिएको छैन । 
नबिल बैंकले आफ्नो ‘एन बैंक’ मोबाइल बैंकिङ एपमार्फत नेपाल–भारत–नेपाल रियल टाइम पर्सन टु पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु भएको घोषणा गरिसकेको छ । बैंकका अनुसार नेपालमा खाता भएका भारतीय नागरिकले भारतमा रहेका आफन्तलाई तत्कालै रकम पठाउन सक्नेछन् भने भारतबाट नेपालस्थित नबिल बैंक खातामा पनि सिधै रकम पठाउन सकिनेछ । 
भारतबाट नेपाल आउने पर्यटक तथा नागरिकले नेपालमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने सुविधा पाउँदै आएका छन् । तर, नेपालबाट भारत जाने नेपाली नागरिकले भारतीय क्यूआर प्रणालीमार्फत प्रत्यक्ष भुक्तानी गर्न पाउने सुविधा भने अझै सञ्चालनमा आएको छैन । नेपाल र भारतका नियामक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूले भविष्यमा त्यस्तो सुविधा पनि विस्तार गर्ने तयारी गरिरहेका छन् ।
नयाँ सेवाले नेपाल र भारतबीच हुने साना रकमका व्यक्तिगत कारोबारलाई सहज बनाउने, बैंकिङ प्रणालीमार्फत हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यममा ल्याउने तथा डिजिटल भुक्तानीको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेषगरी सीमावर्ती क्षेत्र, व्यापारिक गतिविधि, पारिवारिक सहायता तथा विद्यार्थीहरूको खर्च व्यवस्थापनमा यो सेवा उपयोगी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्