नेभिगेशन
अर्थतन्त्र

वीरगंजका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित वीरगंज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवम् कार्यवहाक अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो । 
यसैगरी, गृह मन्त्रालयको छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना, सदस्य तत्कालीन शाखा अधिकृत पर्शुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती–१० की रीता भट्टराईविरुद्ध पनि आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  अर्काकी छोरीलाई आफ्नो भनी महागरप प्रमुख सिंहले झुटा कागजातका आधारमा नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा आयोगले मुद्दा चलाएको हो । 
आरोपितहरूमाथि वीरगन्ज–३ र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्मदर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारेको, सरकारी कागजात सच्याएको र सरकारी लिखत नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजायको मागदाबी सहित सोमबार काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । 
यसअघि, झुटा कागजातका आधारमा नागरिकता दिलाएको यही प्रकरणमा मेयर सिंहलाई गत मंगलबार प्रहरीले ठोरीबाट पक्राउ गरेको थियो । तर, पर्सा जिल्ला अदालतको आदेश अनुसार उनी सोही दिन ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए । अदालतबाट धरौटीमा छुटेका सिंहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी पदबाट निलम्बित भएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्