नेभिगेशन
अर्थतन्त्र

फेवातालका डुंगा चालक र यात्रुको बीमा

कास्की । फेवातालमा डुंगा चढ्ने यात्रु र चालकको पहिलोपटक बीमा गरिएको छ । फेवा डुंगा व्यवसायी संगठनले डुंगा चालक र सयर गर्ने यात्रुको बीमा गरेको हो । 
शिखर इन्स्योरेन्स कम्पनीसँग एक वर्षका लागि लागू हुने गरी बीमा गरिएको संगठनका अध्यक्ष बलराम गिरीले बताए । उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत एक लाख रुपैयाँ प्रदान गरिने छ भने मानवीय क्षति भएमा परिवारले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । 
संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने अध्यक्ष गिरीले बताए । ‘बीमाका लागि पहिलादेखि नै प्रयास गरेका थियौँ तर सफल हुन सकिएको थिएन । सुरक्षाका दृष्टिकोणले बीमा अत्यावश्यक देखिएकाले पहिलोपटक यो व्यवस्था सुरु गरेका छौं । यसबाट डुंगा चालक तथा सवार यात्रुले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ भने यसको सन्देशले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,’ उनले भने । 
फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन् । बीमा गरेसँगै डुंगा चालकले सुरक्षाको महसुस भएको प्रतिक्रिया दिएका छन् । फेवातालका आठवटा घाटबाट ८४७ डुंगा सञ्चालनमा छन् । यहाँ झण्डै ३५० जना डुंगा चालक छन् । 
पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले घुम्न आउने सबै जना पर्यटक फेवाताल पुग्ने गर्दछन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका कारण पनि डुंगा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैंजस्तो घुइँचो हुने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्