नेभिगेशन
खेलकुद

फुटबल महाकुम्भ अमेरिकी सुरक्षा सामर्थ्यको परीक्षा

न्युयोर्क (एपी)– क्रिकेट र बेसबलको क्रेजमा रमेको अमेरिका अर्को सातादेखि अभूतपूर्व सुरक्षा चुनौतीको सामना गर्दै फुटबलमय बन्दैछ । अमेरिका, मेक्सिको र क्यानडाका १६ वटा सहरमा आयोजना हुन लागेको ४८ टोली सम्मिलित १०४ खेलको विशाल संरचनासहितको फिफा विश्वकप, इतिहासकै सबैभन्दा ठूलो र रणनीतिक रूपमा चुनौतीपूर्ण महाकुम्भ बन्ने निश्चित छ । तर, यसपटकको विश्वकप मैदानभित्रको प्रतिस्पर्धामा मात्र सीमित छैन । यो अमेरिकाका लागि एउटा ठूलो सुरक्षा अग्निपरीक्षा पनि बनेको छ । 
अमेरिका र इजरायलको इरानसँग चर्किएको युद्ध, राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक वृत्त वरपर बढ्दो राजनीतिक हिंसा र एआईमार्फत सिर्जना हुन सक्ने भ्रम र अवरोधका बीच सुरक्षा निकायहरू उच्च सतर्कतामा छन् ।
सुरक्षाको दृष्टिकोणबाट अमेरिकी इतिहासमा यस्तो गर्मीयाम कहिल्यै आएको थिएन भन्दै ट्रम्पको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयु जुलियानीले अमेरिकाको हकमा यो ३९ दिनभित्र ७८ वटा सुपर बोल आयोजना गरे सरह भएको र आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । यो महाकुम्भका लागि संघीय एजेन्सीहरू, राज्य तथा स्थानीय प्रहरी र निजी सुरक्षा संस्थाहरूको विशाल संयन्त्र परिचालन गरिएको छ । रंगशाला र फ्यान जोनको सुरक्षादेखि खेलाडी र विशिष्ट अतिथिहरूको सुरक्षाको जिम्मा उनीहरूको काँधमा छ ।
विश्वकपलाई सुरक्षित बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिँदैछ । प्रतिबन्धित आकाशमा छिर्ने शंकास्पद ड्रोनलाई गुडिरहेकै अवस्थामा जाल हानेर खसाल्न सक्ने हन्टर ड्रोन, झोलाहरू चेकिङ गर्ने रोबोट डग, विशाल एक्स–रे ट्रक र भीडभाडमा निगरानी राख्न हजारौं एआई–सञ्चालित क्यामराहरू तैनाथ गरिएका छन् । होमल्याण्ड सेक्युरिटीका अनुसार विश्वकप अवधिभर करिब ७० लाख मानिसले अमेरिका भ्रमण गर्ने अनुमान छ । विश्वभरबाट आउने राष्ट्रप्रमुख र विशिष्ट अतिथिहरूको सुरक्षाको जिम्मा अमेरिकी सीक्रेट सर्भिसलाई दिइएको छ, जुन आफैंमा जनशक्ति अभावसँग जुधिरहेको छ । राष्ट्रपति ट्रम्पले पनि खेल हेर्न जाने इच्छा व्यक्त गरेका छन् । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) ले ११ वटा आयोजक सहरहरूलाई सुरक्षा खर्चका लागि ६२ करोड ५० लाख डलर र ड्रोन निष्क्रिय पार्न थप २५ करोड डलर वितरण गरिसकेको छ ।
यसअघि कतारमा भएको विश्वकपभन्दा अहिलेको सुरक्षा परिदृश्य निकै बदलिएको छ । युक्रेन युद्ध र अक्टोबर ७ को इजरायलमाथिको हमासको आक्रमणपछि ड्रोनहरू युद्धको मुख्य हतियार बनेका छन् । न्युयोर्क प्रहरी प्रमुख जेसिका टिसले ‘यदि कुनै कुराले आफूलाई रातभर ब्युँझाउँछ भने, त्यो ड्रोनको खतरा भएको’ बताएकी छन् । त्यस्तै एआई प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलाइने भ्रम र फेक भिडियो अर्को ठूलो चुनौती हो । रंगशालामा बम विस्फोट भएको नक्कली एआई भिडियो फैलाएर भागदौड मच्चाउन सक्ने खतरालाई मध्यनजर गर्दै एफबीआईले हरेक आयोजक सहरमा तत्कालै सूचना प्रमाणीकरण गर्ने संयन्त्र स्थापना गरेको छ ।
सुरक्षा योजनाहरू चुस्त देखिए पनि आन्तरिक राजनीतिक खिचातानी र बजेट निकासामा भएको ढिलाइले केही चुनौती थपेको विश्लेषकहरूको भनाइ छ । यद्यपि, सुरक्षा अधिकारीहरू यस चुनौतीलाई अमेरिकी विशिष्टता र सक्षमता विश्वसामु प्रदर्शन गर्ने एउटा अवसरका रूपमा हेरिरहेका छन् । कार्यदलका निर्देशक जुलियानीले यदि आफूहरूले आफ्नो काम सही ढंगले गरेमा विश्वकप सकिँदा कसैले पनि सुरक्षाको चर्चा नगरी मात्र खेलको चर्चा गर्ने दाबी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्