नेभिगेशन
अर्थतन्त्र

काठमाडौंमा बन्ने भयो जेडब्लू म्यारियट

काठमाडौं । नेपालमा पहिलो पटक जेडब्लू म्यारियट ब्रान्डको होटल बन्ने भएको छ । नेपालको लक्जरी आतिथ्य क्षेत्रमा नयाँ अध्याय थप्ले गरी नयाँ होटल निर्माण हुने भएको हो । एमएस ग्रुप अन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न भएसँगै नेपालमा अन्तर्राष्ट्रिय स्तरको नयाँ होटल बन्ने निश्चित भएको हो । 
क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच भएको सम्झौताअनुसार ‘जेडब्लू म्यारियट होटल काठमाडौं भ्याली’ निर्माण सम्पन्न गरी सन् २०३१ को प्रारम्भमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यो आयोजना म्यारियट इन्टरनेसनल र एमएस ग्रुपबीचको चौथो सहकार्य हुनुका साथै नेपालको लक्जरी होटल उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । होटलमा २२१ वटा विलासी अतिथि कक्ष रहनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १५ मिनेटको दूरीमा अवस्थित हुने होटलबाट काठमाडौं उपत्यकाका युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत स्थल तथा अन्य सांस्कृतिक सम्पदामा सहज पहुँच हुने जनाइएको छ ।
होटलमा उच्चस्तरीय भोजनालय, स्पा, फिटनेस सेन्टर, स्विमिङ पुल, जेडब्लू गार्डेन तथा १ हजार ६ सय वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा कार्यक्रम तथा सभा–सम्मेलन आयोजना गर्न मिल्ने सुविधा रहनेछ । होटल व्यवस्थापन सम्झौतामा क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडका सञ्चालक तथा प्रबन्ध निर्देशक गौरव अग्रवाल र म्यारियट इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्र (चीनबाहेक) का अध्यक्ष राज मेननले हस्ताक्षर गरेका थिए । 
साथै, क्यापिटल होटलको तर्फबाट शशीकान्त अग्रवाल र म्यारियट इन्टरनेसनलको तर्फबाट डेभिड म्यारियटबीच थप सम्झौता आदान–प्रदान भएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाको पनि उपस्थिति रहेको थियो । सम्झौतापछि बोल्दै गौरव अग्रवालले म्यारियटसँगको सहकार्यलाई नेपालको पर्यटन उद्योगका लागि महत्त्वपूर्ण अवसरको रूपमा व्याख्या गरे । 
‘हामी नेपालका प्राकृतिक, सांस्कृतिक र आतिथ्यका विशेषता झल्काउने विश्वस्तरीय होटल स्थापना गर्न चाहन्छौँ,’ उनले भने, ‘यसले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउनेछ ।’
म्यारियट इन्टरनेसनलले पनि काठमाडौंमा जेडब्लू म्यारियट ब्रान्ड भित्र्याउनुलाई दक्षिण एसियामा आफ्नो विस्तार रणनीतिको महत्वपूर्ण हिस्सा मानेको छ । कम्पनीका अनुसार नयाँ होटलले विश्वव्यापी रूपमा परिचित जेडब्लू म्यारियटको उत्कृष्ट आतिथ्य सेवा र परिष्कृत विलासिताको अनुभव नेपालमा उपलब्ध गराउनेछ । 
एमएस ग्रुपअन्तर्गतको क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेडले नेपालमा लक्जरी आतिथ्य सेवाको स्तर उकास्ने उद्देश्यका साथ विभिन्न परियोजनामा लगानी गर्दै आएको छ । कम्पनीले नेपाली संस्कृति, परम्परा र आतिथ्यको भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको जनाएको छ । विश्वकै अग्रणी होटल कम्पनीमध्ये एक म्यारियट इन्टरनेसनलको सञ्जाल १४६ देश तथा क्षेत्रमा फैलिएको छ । 
कम्पनीका अनुसार सन् २०२६ मार्चसम्म म्यारियटका विभिन्न ब्रान्डअन्तर्गत विश्वभर ९ हजार ९ सयभन्दा बढी होटल तथा आवासीय सम्पत्ति सञ्चालनमा छन् । काठमाडौंमा जेडब्लू म्यारियट होटल सञ्चालनमा आएपछि नेपालले अन्तर्राष्ट्रिय लक्जरी होटल ब्रान्डको नयाँ उपस्थिति प्राप्त गर्नेछ । साथै, उच्चस्तरीय पर्यटन तथा सम्मेलन बजारलाई समेत थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्