नेभिगेशन
अर्थतन्त्र

साधारणसभा विधानविपरीत छैनः इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले संस्थाको विधान गायब भएको तथा विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको भन्ने आरोपको कडा खण्डन गरेको छ । इप्पानले विज्ञप्ति जारी गरी यस्तो आरोपलाई ‘अनर्गल र कपोलकल्पित प्रचार’ भन्दै संस्थाप्रति नकारात्मक सन्देश प्रवाह गर्ने प्रयास भएको जनाएको हो । 
इप्पानका अध्यक्ष गणेश कार्कीले विज्ञप्तिमार्फत आगामी जेठ २९ गते हुने नै २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आयोजना हुने जानकारी दिँदै संस्थाका सम्पूर्ण सदस्यलाई भ्रममा नपर्न आग्रह गरेका छन् । इप्पानका अनुसार हाल संस्थामा ७०० भन्दा बढी कम्पनी सदस्य आबद्ध छन् । 
२०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो । उक्त समितिले संस्थालाई महासंघको रूपमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते बुझाएको थियो । त्यसपछि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभाले प्रतिवेदनमाथि छलफल गर्दै त्यसको कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी दिएको विज्ञप्तिमा उल्लेख छ । 
२०८३ वैशाख ४ गते सम्पन्न कार्यसमितिको २००औँ बैठकले महासंघमा रूपान्तरणको प्रक्रिया अघि नबढाई इप्पानको विद्यमान विधान–२०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन गर्ने निर्णय गरेको इप्पानको भनाई छ । 
इप्पानले जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकको निर्णय बमोजिम विधान संशोधनसम्बन्धी नयाँ प्रस्ताव पनि साधारणसभामा लैजाने निर्णय गरेको जनाएको छ । प्रस्तावअनुसार हाल रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाइनेछ । विधान संशोधनपछि कार्यसमितिमा कम्तीमा एक कार्यकाल पूरा गरेका र योग्य ठहरिएका सदस्यले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिने प्रस्ताव गरिएको छ ।
अन्य सबै पदमा पनि खुला प्रतिस्पर्धामार्फत उम्मेदवारी दिन सकिने व्यवस्था गर्ने तयारी रहेको इप्पानले जनाएको छ । आगामी अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्न र सम्पूर्ण चुनावी प्रक्रियामा सहभागिता जनाउन पनि निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्