नेभिगेशन
अर्थतन्त्र

तल्लो अरुणसहित ४ आयोजनालाई वन क्षेत्र प्रयोग स्वीकृति

काठमाडौं । भारतीय लगानीमा निर्माण हुन लागेको ६६९ मेगावाटको तल्लो अरुणसहित चारवटा जलविद्युत् आयोजनालाई सरकारले वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले तल्लो अरुण, १२.६० मेगावाटको लोअर न्यादी, ७७.५ मेगावाटको घुन्सा खोला र ३ मेगावाटको तादीखोला क्यासकेड आयोजनालाई वन क्षेत्रको जग्गा उपयोग गर्न स्वीकृति प्रदान गरेको हो । 
कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा चार आयोजनालाई वन क्षेत्रको उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । 
तल्लो अरुण भारतको सतलज जलविद्युत् निगम लिमिटेडको सहायक एसजेभीएन लोअर अरुण डेभलपमेन्ट कम्पनीले निर्माण गर्दैछ । यो आयोजना अध्ययन सकेर निर्माण थाल्ने चरणमा छ । यो आयोजनाको कम्पनी र लगानी बोर्डबीच आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । 
विस्तृत आयोजना प्रतिवेदन तयार भई आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको छ । भारतले निर्माण गरिरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई टेलरेसबाट आउने पानी उपयोग गरी तल्लो अरुणबाट विद्युत् उत्पादन गर्ने गरी यो आयोजनाको डिजाइन तयार गरिएको छ । 
अरुण तेस्रोले छोड्ने पानीलाई २९.५ मिटर चौडा, २८ मिटर अग्लो तथा ६६.४ मिटर लामो हेडपोन्ड निर्माण गरी पानीको उपयोग गरेर विद्युत् उत्पादन गरिनेछ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक २९०१.०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । 
यो आयोजनाले उत्पादन गर्ने विद्युत् अरुण–३ को विद्युत् प्रवाह गर्न निर्माण गरिएको ४०० केभी प्रसारण लाइनमा २ किलोमिटर लामो ‘लुप इन लुप आउट’ प्रसारण लाइनमार्फत प्रसारण प्रणालीमा प्रवाह गर्ने योजना छ । यो आयोजनाको निर्माण सुरु भएको ५ वर्षभित्र तयार पारेर बिजुली उत्पादन गर्ने लक्ष्य छ । 
यस्तै, १२.६० मेगावाटको लोअर न्यादी लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित न्यादी खोलामा निर्माण हुँदैछ । यो आयोजना हव पावर प्रालिले निर्माण गर्न अनुमति लिएको छ । कम्पनीले आयोजनाको सबै अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउन उत्पादन अनुमति लिइसकेको छ । 
निर्माण सुरु गरेको ३ वर्षमा सम्पन्न गरी आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ७७.६६८ गिगावाट घन्टा विद्युत् उत्पादन गर्न सकिनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत् ४ किलोमिटर १३२ केभी लाइन निर्माण गरी नेपाल विद्युत् प्राधिकरणको टाडीकुना हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ । 
यस्तै, ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा निर्माण हुने ७७.५ मेगावाटको घुन्सा खोला जलविद्युत् आयोजनालाई पनि वन क्षेत्रको जग्गा उपयोग गर्न सरकारले स्वीकृति दिएको छ । यो आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्दैछ । यो आयोजना अध्ययन तथा सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी निर्माणमा जाने चरणमा पुगेको छ । 
प्रवर्धक कम्पनीले यो आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन पनि गरिसकेको छ । आयोजनामा ५ वटा बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ । यो आयोजना निर्माण गर्न ब्याजसहित कुल १८ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कुल लागतमध्ये आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणले २१ प्रतिशत, एचआईडीसीएलको १५ प्रतिशत र विद्युत् उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत लगानी रहनेछ । बाँकी पुँजीको ४९ प्रतिशत जनतालाई साधारण सेयर जारी गरी व्यवस्थापन गर्ने योजना छ ।
साधारण सेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दाको र बाँकी १० प्रतिशत सर्वसाधारणको लगानी रहनेछ । निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत् करिब ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत् आयोजनाबाट सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण गरिने मार्गेनस्थित २२०÷१३२ केभी तमोर सबस्टेशनमा जोडिने छ । यहाँबाट करिब ३२ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत प्राधिकरणको ढुंगेसाँघु २२० केभी सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।  
यस्तै, ३ मेगावाटको तादी खोला क्यासकेड नुवाकोटको तादी बेसिनमा निर्माण हुने आयोजना हो । ५ मेगावाटको तादी खोला निर्माण गरेको प्रवर्धकले नै यो आयोजना पनि निर्माण गर्न लागेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्