नेभिगेशन
अर्थतन्त्र

दीपक, सुलभ र शेखरविरुद्ध एकैपटक तीन मुद्दा दायर

काठमाडौं । विवादास्पद व्यवसायीहरु दीपक भट्ट, सुलभ अग्रवाल, उद्योगवाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा लगायतविरूद्ध सरकारले एकै पटक तीनवटा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । जिल्ला अदालत काठमाडौंमा दुई  छुट्टाछुट्टै अभियोगपत्र दायर भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले यी मुद्दाहरू दर्ता गरेको हो । 
गम्भीर आर्थिक अपराधमा मुख्य आरोपीहरु दीपक भट्ट र सुलभ अग्रवाल हाल थुनामा छन् । शेखर गोल्छा यसअघि पक्राउ परे पनि सर्वोच्च अदालतको बन्दीप्रत्यक्षीकरण आदेश र हाजिर जमानीमा छुटेका थिए भने शंकरलाल अग्रवाल पनि स्वास्थ्य स्थिति र उमेरका कारण साधारण तारिख÷जमानीमा बाहिर छन् । यो प्रकरणलाई नेपालको कर्पोरेट र सेयर बजार इतिहासकै सबैभन्दा ठूलो मुद्दाका रुपमा हेरिएको छ । 
विशेषमा सम्पत्ति शुद्धीकरण 
विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।  हिमालयन रि–इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी धितोपत्र बजार (सेयर मार्केट) मा संगठित रूपमा गैरकानुनी चलखेल गरेको, कृत्रिम माग र मूल्य सिर्जना गरेको तथा अवैध सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । विशेष सरकारी वकिल कार्यालयले २२ अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।
यस मुद्दामा इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट, शंकर ग्रुपका शंकरलाल अग्रवाल र सुलभ अग्रवाल, लक्की ग्रुपका अमित मोर, ऋषिराज मोर, र भृकुटी स्टक ब्रोकिङका सञ्चालक सन्दीप चाचनसहित ३४ जना व्यक्ति र ५ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ । यसमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझा र मदन दाहालविरूद्ध पनि मुद्दा दायर भएको छ । बिगो पनि छुट्टाछुट्टै मागदाबी गरेको छ ।
जिल्ला अदालतमा धितोपत्र र बीमा कसुर
धितोपत्र ऐन र बीमा ऐन विपरीतका वर्जित कार्यहरू गरी सर्वसाधारण लगानीकर्तालाई ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यो मुद्दामा शेखर गोल्छा, दीपक भट्ट, सुलभ अग्रवालसहित ८१ जनालाई प्रतिवादी बनाइएको छ । नेपाल धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले भट्ट र उनको समूहलाई सेयर कारोबारको भुक्तानी सहजीकरण र अन्य प्राविधिक प्रक्रियामा शेखर गोल्छाले सहयोग गरेको देखाएको थियो ।
उच्चमा बैंकिङ कसुर 
बैकिङ कसुरसम्बन्धि मुद्दा भने उच्च अदालत पाटनमा दायर भएको छ । यसमा मुख्य प्रतिवादीहरू शंकरलाल अग्रवाल, सुलभ अग्रवाल, साहिल अग्रवाल र दीपक भट्ट छन् । यो मुद्दामा  ४२ करोड १० लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्