नेभिगेशन
अर्थतन्त्र

किसानलाई यो वर्ष ६ लाख टन रासायनिक मल

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा किसानलाई विगतका वर्षहरूको तुलनामा सबैभन्दा बढी परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ । कृषि, वन तथा पर्यावरण गीता चौधरीले राष्ट्रियसभाको बैठकमा बिहीबार यो वर्ष मल अभावको समस्या दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्री चौधरीले चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन रासायनिक मल आयात भइसकेको र त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानसम्म बिक्री–वितरण गरिएको बैठकमा जानकारी दिइन् । 
उनले हाल विभिन्न गोदाममा मौज्दात रहेको तथा नेपाल भित्रिएर अभिलेखीकरण हुन बाँकी रहेको समेत गरी कुल १ लाख ३८ हजार ८०२ मेट्रिक टन मल उपलब्ध रहेको बताइन् । सरकारको लक्ष्य असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल अनुदानमार्फत कृषकलाई उपलब्ध गराउने रहेको उनको भनाई छ ।
कृषि उत्पादनको मुख्य सिजनलाई ध्यानमा राख्दै मल आपूर्तिमा कुनै अवरोध आउन नदिन मन्त्रालयले आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको मन्त्री चौधरीले बताइन् । मल आपूर्तिका लागि सम्झौता गरिएका कम्पनीहरूलाई समयमै ढुवानी र वितरण सुनिश्चित गर्न निरन्तर ताकेता गरिएको पनि उनले जानकारी दिइन् ।
मन्त्रालयका अनुसार असार अन्त्यदेखि साउन महिनाभित्र थप ९० हजार मेट्रिक टन मल नेपाल भित्र्याउने योजना छ । यसले धान रोपाइँलगायत प्रमुख बालीको सिजनमा मल आपूर्तिलाई सहज बनाउने मन्त्री चौधरीको दाबी छ । 
यस्तै, भारतसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत ८० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको र पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया तथा २० हजार मेट्रिक टन डीएपी खरिद प्रक्रिया सुरु गरिएको मन्त्री चौधरीले बताइन् ।
विगतमा बाली लगाउने समयमा देखिने मल अभावको समस्या समाधान गर्ने उद्देश्यले सरकारले आयात, भण्डारण र वितरण व्यवस्थापनलाई प्राथमिकतामा राखेको मन्त्री चौधरीले बताइन् । 

१० करोड किलो उठेन 
कृषि सामग्री कम्पनी लिमिटेडका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाहरुबाट झण्डै १० करोड किलो रासायनिक मल नउठेको पाइएको छ । कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४५० किलो रासायनिक मल नउठाएको हो । 
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाए पनि उठ्न नसकदा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिँदैन । कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख ५४ हजार ५०० किलो युरिया मल मौज्दात रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
डिएपी पनि २० लाख ९२ हजार ६०० किलो मौज्दात छ । यस्तै, पोटास ३२ लाख ४८ हजार ८५० किलो मौज्दात रहेको कम्पनीको तथ्यांक छ । तर, शाखा कार्यालयबाट उठ्न सकेको अवस्था देखिँदैन । 
यस्तै, मधेश प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको देखिएको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा विभिन्न शाखा कार्यलयमा ३ करोड ११ लाख ३१ हजार २०० किलो युरिया, १ करोड १४ लाख ५६ हजार २०० किलो डीएपी र ५५ लाख ८४ हजार ६०० किलो  पोटास मल मौज्दात देखिएको छ । 
यस्तै, बागमती प्रदेशमा  पनि ४० लाख ९३ हजार ३०० किलो युरिया, ५ लाख ९९ हजार १५० किलो डीएपी र २ लाख ५१ हजार ७५० किलो पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ । गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा ४ लाख ६ हजार ६५० किलो युरिया, १ लाख ३० हजार ८०० किलो डीएपी र ६१ हजार ८००  किलो पोटास मौज्दात छ । तर, यहाँबाट पनि मल नउठाइएको अवस्था छ ।
यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा १ करोड ५० लाख ३५ हजार ८५० किलो  युरिया, ४६ लाख ४३ हजार ९०० किलो डीएपी र ४४ लाख १२ हजार ४०० किलो पोटास मौज्दात छ । 
कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा २ लाख १२ हजार २५० किलो युरिया, ७४ हजार ६५० किलो डीएपी, ४८ हजार ९५० किलो पोटास मौज्दात रहेको पाइएको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार सूदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा पनि २४ लाख ५४ हजार १०० किलो युरिया, २ लाख ९३ हजार २५० किलो डीएपी  र ४ लाख २३ हजार २०० किलो पोटास मौज्दात रहेको पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्