काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आठौँ महाधिवेशन तथा २४औँ वार्षिक साधारणसभा आज काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा हुँदैछ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको प्रारम्भिक नामावलीअनुसार २४ पदका लागि ४२ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा भने वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी विधानअनुसार स्वतः अध्यक्ष बन्ने निश्चित भइसकेको छ ।
महाधिवेशनअघि नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी उत्तम भ्लोन लामा र बलराम खतिवडाले छुट्टाछुट्टै प्यानल घोषणा गरेपछि निर्वाचन प्रतिस्पर्धात्मक बनेको हो । एक पद रहेको वरिष्ठ उपाध्यक्षका लागि उत्तम भ्लोन लामा र बलराम खतिवडाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदैछ ।
यस्तै, ५ उपाध्यक्ष पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, कुमार खरेल, दीपक पौडेल, नरेन्द्र बल्लभ पन्त, विक्रम बिष्ट, भरतप्रसाद नेपाल, भरतबहादुर खत्री, शुसन कर्माचार्य र हिमप्रसाद पाठकले प्रतिस्पर्धा गर्दैछन् ।
यस्तै, महासचिव पदमा टेकनाथ (टिएन) आचार्य र प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुने भएको छ । उपमहासचिव पदमा कविता पोखरेलको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएकी छन् । कोषाध्यक्ष पदका लागि मिथुन चक्रवर्तीप्रसाद पौडेल र शंकर बस्याल चुनावी मैदानमा छन् ।
त्यस्तै पाँच जना सचिव पदका लागि पनि निर्वाचन गर्ने नपर्ने भएको छ । सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई र सुमनकुमारी जोशी रहेका छन् । त्यसैगरी, ७ खुला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।
खुला सदस्यतर्फ अनुप आचार्य, इन्दिरा पन्त, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, वर्णन लामिछाने, डा. भूषण गुरागाईं, मिलन खड्का, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल, सोमनाथ कँडेललगायत उम्मेदवार छन् । महिला सदस्यतर्फ तीन पदका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ । ज्योती गैरे, प्रतिमा ज्ञवाली, संगीता धमला र सिर्जना खड्का चुनावी मैदानमा छन् ।
नेपालको निजी जलविद्युत् क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन मानिने इप्पानको नयाँ नेतृत्व चयनलाई ऊर्जा क्षेत्रले चासोका साथ हेरेको छ । आगामी कार्यकालमा विद्युत् खरिद सम्झौता (पीपीए), प्रसारण लाइन विस्तार, विद्युत् निर्यात, लगानी प्रवर्धन तथा नीतिगत सुधारजस्ता विषयमा नयाँ नेतृत्वको भूमिका महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ । महाधिवेशनबाट निर्वाचित हुने कार्यसमितिले तीन वर्षसम्म संस्थाको नेतृत्व सम्हाल्नेछ ।