यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करणका रूपमा उदाएको छ । ४८ टोलीको सहभागिता, तीन आयोजक राष्ट्र र १६ रंगशालामा ३९ दिनसम्म सञ्चालन हुने १०४ खेलका कारण यो विश्वकप इतिहासकै सबैभन्दा विशाल प्रतियोगिता बन्न पुगेको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यो प्रतियोगिता फिफाले टोली संख्या ३२ बाट ४८ पु¥याएपछि हुने पहिलो विश्वकप हो । यससँगै प्रारम्भिक चरणमा चार अतिरिक्त समूह थपिएका छन् भने नकआउट चरणमा नयाँ ‘राउन्ड अफ ३२’ पनि समावेश गरिएको छ ।
यसअघि विश्वकपको विस्तार सन् १९९८ मा गरिएको थियो । त्यसयता सात संस्करणसम्म ३२ टोली र ६४ खेलको ढाँचा कायम थियो । साथै, सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेपछि यो दोस्रो पटक एकभन्दा बढी देशमा विश्वकप खेलिँदैछ ।
अमेरिकामा ११, मेक्सिकोमा ३ र क्यानडामा २ गरी कुल १६ खेलस्थल रहनेछन् । मेक्सिकोले उद्घाटन खेलसहित १३ खेल आयोजना गरेको छ । यो समाचार तयार हुँदै गर्दा पहिलो उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच राजधानी मेक्सिको सिटीमा खेल आयोजनको व्यापक तयारी भइरहेको छ । मेक्सिकोमा नकआउट चरणका तीन खेल पनि हुनेछन् ।
क्यानडामा पनि १३ खेल हुनेछन् । जुन १२ मा टोरन्टोमा क्यानडा र बोस्निया–हर्जेगोभिनाबीचको खेलबाट त्यहाँको यात्रा सुरु हुनेछ । क्यानडाले पनि नकआउट चरणका तीन खेल आयोजना गर्नेछ ।
बाँकी ७८ खेल अमेरिकामा हुनेछन् । अमेरिकाले जुन १२ मा लस एन्जलस क्षेत्रको रंगशालामा पाराग्वेविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका सबै खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछन् ।
विश्वकप २०२६ का रोचक तथ्यांक
१,२४८ खेलाडी
यसपटक विश्वकपमा कीर्तिमानी १,२४८ खेलाडी सहभागी हुनेछन् । उनीहरू ७१ देशका ४४९ घरेलु क्लबबाट आएका छन् । तीमध्ये ३५७ खेलाडीलाई विश्वकपको अनुभव छ भने ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् ।
क्लबस्तरमा इंग्ल्यान्ड सबैभन्दा अगाडि छ । त्यहाँका क्लबमा आबद्ध २०० खेलाडी विश्वकप टोलीमा परेका छन् । त्यसपछि जर्मनी (१०९), फ्रान्स (८६), स्पेन (८६), इटाली (७१) र साउदी अरेबिया (४९) छन् ।
अमेरिकी मेजर लिग सकर (एमएलएस) बाट कीर्तिमानी ४४ सक्रिय खेलाडी विश्वकपमा सहभागी हुनेछन् । कुल १०३ खेलाडीले कुनै न कुनै समयमा एमएलएस खेलेका छन् ।
क्लबका हिसाबले म्यानचेस्टर सिटीका सबैभन्दा धेरै १९ खेलाडी विश्वकपमा छन् । त्यसपछि बायर्न म्युनिख (१८), पेरिस सेन्ट–जर्मेन र आर्सनल (१६–१६) तथा बार्सिलोना (१५) छन् ।
२२६ अन्तर्राष्ट्रिय खेल
पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले २२६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्, जुन पुरुष फुटबलमा कीर्तिमान हो ।
उनी अर्जेन्टिनाका लियोनल मेस्सीसँगै छ वटा विश्वकप खेल्ने दुर्लभ खेलाडी बन्ने तयारीमा छन् ।
रोनाल्डो पाँच फरक विश्वकपमा गोल गर्ने एकमात्र खेलाडी हुन् । उनले २२ विश्वकप खेलमा ८ गोल गरेका छन् ।
मेस्सीले विश्वकपमा सबैभन्दा धेरै २६ खेल खेलेका छन् । उनी दुई खेल थप खेले त अन्तर्राष्ट्रिय फुटबलमा २०० खेल पार गर्ने तेस्रो खेलाडी बन्नेछन् ।
क्रोएसियाका लुका मोड्रिच पनि यो उपलब्धिबाट तीन खेल टाढा छन् ।
मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ छैटौं पटक विश्वकप टोलीमा परेका छन्, यद्यपि उनले २००६ र २०१० मा कुनै खेल खेलेका थिएनन् ।
१६ गोल
जर्मनीका मिरोस्लाभ क्लोजेको विश्वकपमा १६ गोलको कीर्तिमान यसपटक चुनौतीमा पर्न सक्छ ।
मेस्सी हाल १३ गोलसहित चौथो स्थानमा छन् । उनीभन्दा माथि क्लोजे (१६), ब्राजिलका रोनाल्डो (१५) र गेर्ड मुलर (१४) छन् ।
फ्रान्सका किलियन एम्बाप्पेले पछिल्ला दुई विश्वकपमा १२ गोल गरिसकेका छन् र कीर्तिमान नजिक छन् ।
८ विश्वविजेता राष्ट्र
हालसम्म केवल आठ राष्ट्रले विश्वकप जितेका छन् । तीमध्ये छ राष्ट्रले एकभन्दा बढी पटक उपाधि जितेका छन् । ब्राजिल पाँच उपाधिसहित सबैभन्दा सफल राष्ट्र हो । पछिल्ला ११ विश्वकपमध्ये नयाँ च्याम्पियन बनेका राष्ट्र केवल दुई छन्, फ्रान्स (१९९८) र स्पेन (२०१०) ।
२ पटक लगातार उपाधि रक्षा
अहिलेसम्म केवल दुई राष्ट्रले लगातार विश्वकप जितेका छन् ।
पेलेको नेतृत्वमा ब्राजिलले १९५८ र १९६२ मा लगातार उपाधि जित्यो भने इटालीले १९३४ र १९३८ मा यस्तो उपलब्धि हासिल गरेको थियो ।
फ्रान्ससहित अन्य तीन राष्ट्रले उपाधि रक्षा गर्ने प्रयासमा फाइनलसम्म पुगे पनि सफल हुन सकेनन् ।
६ पटक समूह चरणमै बाहिरिएका च्याम्पियन
अहिलेसम्म छ विश्वविजेता टोलीले उपाधि रक्षा गर्न जाँदा समूह चरण नै पार गर्न सकेनन् ।
विशेषगरी पछिल्ला चार संस्करणमध्ये तीनमा यस्तो भएको छ । इटाली (२०१०), स्पेन (२०१४) र जर्मनी (२०१८) नकआउट चरणमा पुग्न सकेनन् ।
३ लगातार फाइनलको लक्ष्य
फ्रान्स लगातार तेस्रो पटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ ।
उसले २०१८ मा उपाधि जितेको थियो भने २०२२ मा अर्जेन्टिनासँग फाइनल हारेको थियो ।
यसअघि पश्चिम जर्मनीले १९८२, १९८६ र १९९० मा लगातार तीन फाइनल खेलेको थियो । ब्राजिलले पनि १९९४, १९९८ र २००२ मा लगातार तीन फाइनल खेलेको थियो ।
२३ विश्वकप सहभागिता
ब्राजिल विश्वकपका सबै २३ संस्करणमा खेल्ने एकमात्र राष्ट्र हो ।
सन् १९३० देखि अहिलेसम्म कुनै पनि विश्वकप नछुटाएको ब्राजिलसँग ७६ जित, २३७ गोल र प्लस १२९ गोल अन्तरको कीर्तिमान छ ।
जर्मनी २१ सहभागिता, २३२ गोल र प्लस १०२ गोल अन्तरसहित दोस्रो स्थानमा छ ।
४ नयाँ राष्ट्र
यसपटक चार राष्ट्रले पहिलो पटक विश्वकप खेल्दैछन् । ती हुन्, केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तान । यससँगै विश्वकप खेल्ने राष्ट्रहरूको कुल संख्या ८४ पुग्नेछ ।
७ खेल, तर जित शून्य
इजिप्टले विश्वकपमा सात खेल खेल्दा एकपटक पनि जित्न सकेको छैन ।
उसको कीर्तिमान २ बराबरी र ५ हार रहेको छ ।
बेल्जियमविरुद्ध जुन १५ मा हुने खेलबाट इजिप्टले पहिलो जित खोज्नेछ ।
विश्वकपमा सबैभन्दा धेरै खेल जितविहीन रहने राष्ट्र होन्डुरस हो, जसले ९ खेल खेलेको छ । तर होन्डुरस यसपटक छनोट हुन सकेन ।
२,७२० गोल
पहिला २२ विश्वकपका ९६४ खेलमा कुल २,७२० गोल भएका छन् ।
यसपटक ४० खेल थपिएकाले सन् २०२२ को कतार विश्वकपमा बनेको १७२ गोलको प्रतियोगितागत कीर्तिमान तोडिने अपेक्षा गरिएको छ ।
यद्यपि सन् १९५४ मा प्रति खेल औसत ५.३८ गोलको कीर्तिमान भने सुरक्षित रहने सम्भावना छ ।
२५ वर्षभन्दा बढी उमेर अन्तर
यस विश्वकपका सबैभन्दा ज्येष्ठ र सबैभन्दा कान्छा खेलाडीबीच २५ वर्षभन्दा बढी उमेरको अन्तर छ ।
स्कटल्यान्डका गोलकिपर क्रेग गोर्डन प्रतियोगिता सुरु हुँदा ४३ वर्ष १६२ दिनका हुनेछन् ।
मेक्सिकोका गिल्बर्ट मोरा भने १७ वर्ष २४० दिनका मात्र हुनेछन्, जसले उनलाई प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी बनाउनेछ ।