नेभिगेशन
अर्थतन्त्र

१५ दिनभित्र अव्यवस्थित तार व्यवस्थापन गरिने

काठमाडौँ । सहरी क्षेत्रमा वर्षौंदेखि पोल–पोलमा गुजुल्टो परेर झुण्डिएका, चुडिएका र प्रयोगविहीन तार हटाएर व्यवस्थित बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले ठोस पहल थालेको छ । नेपाल विद्युत् प्राधिकरणको आग्रहपछि दुरसञ्चार प्राधिकरणले सार्वजनिक सुरक्षादेखि शहरी सौन्दर्यसम्म चुनौती बनेका यस्ता तारहरूको व्यवस्थापनलाई प्राधिकरणले अब प्राथमिकतामा राखेको जनाएको हो । 
दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा काठमाडौं उपत्यकाका विभिन्न मुख्य सडक र बस्ती क्षेत्रमा अव्यवस्थित टेलिफोन तथा इन्टरनेटका तार हटाउने र व्यवस्थापन गर्ने अभियान सञ्चालन गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको भूमिगत संरचना उपलब्ध भएका क्षेत्रमा विशेष प्राथमिकताका साथ काम अघि बढाइने बताइएको छ । 
प्राधिकरणका अनुसार अव्यवस्थित तारका कारण सडक दुर्घटना, आगलागी तथा अन्य प्राविधिक जोखिम बढ्नुका साथै शहरको सौन्दर्यमा समेत नकारात्मक असर परिरहेको छ । यही अवस्थालाई सुधार गर्न सम्बन्धित सेवा प्रदायकहरूसँग समन्वय गरी १५ दिनभित्र चरणबद्ध रूपमा व्यवस्थापन कार्य सम्पन्न प्रतिबद्धता दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
अभियानअन्तर्गत त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडिबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चावहिल सडकखण्डलाई प्राथमिकतामा राखिएको छ । विद्युत् प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्ना तारहरूको नियमित व्यवस्थापन गर्न यसअघि नै निर्देशन दिएको छ । 
साथै, प्रत्येक तारमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले तारमा ट्याग नरहेको वा सम्बन्धित सेवा प्रदायकको प्रतिनिधि उपस्थित नभएका कारण तार काटिए वा हटाइएमा त्यसको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक स्वयंले वहन गर्नुपर्ने स्पष्ट पारेको छ । अव्यवस्थित तार व्यवस्थापन अभियानलाई प्राधिकरणले सुरक्षित, व्यवस्थित र आकर्षक शहरी वातावरण निर्माणतर्फको महŒवपूर्ण कदमका रूपमा लिएको छ । 
यसअघि विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा अव्यवस्थित रूपमा रहेका दूरसञ्चार तथा इन्टरनेट सेवाका तार व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेको थियो । विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने क्रममा आफ्ना संरचनाहरूको व्यवस्थापन गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्