नेभिगेशन
अर्थतन्त्र

यशोधा फुड्सको स्पष्टिकरण: निश्चित ब्याचबाहेकका करेन्ट चाउचाउ सुरक्षित र खान योग्य

काठमाडौं । यशोधा फुड्स प्रालिले ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउको एउटा निश्चित ब्याचमा मात्रै गुणस्तर सम्बन्धी समस्या देखिएको भन्दै अन्य सबै ब्याचका उत्पादन सुरक्षित र खान योग्य रहेको जनाएको छ।

कम्पनीले आइतबार सूचना जारी गर्दै उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए भएको १०० ग्रामको ‘करेन्ट हट एण्ड स्पाइसी’ चाउचाउबाहेक अन्य सबै उत्पादन उपभोग गर्न सकिने स्पष्ट पारेको हो।

कम्पनीका अनुसार खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेखित उक्त ब्याच बाहेक, अन्य मितिमा उत्पादन भएका वा फरक ब्याच नम्बर भएका सम्पूर्ण करेन्ट चाउचाउ गुणस्तरीय र उपभोगका लागि उपयुक्त छन्।

“उक्त उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउबाहेक अन्य मितिमा उत्पादित तथा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिन्छ,” कम्पनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

यशोधा फुड्सले उपभोक्ता, बिक्रेता तथा अधिकृत वितरकलाई भ्रममा नपर्न आग्रह गर्दै सो विवादित ब्याचबाहेकका उत्पादन ढुक्क भएर बिक्री–वितरण तथा उपभोग गर्न अनुरोध गरेको छ। कम्पनीले आफ्ना उत्पादनको गुणस्तरप्रति प्रतिबद्ध रहेको पनि जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्