नेभिगेशन
अर्थतन्त्र

एभरेष्ट बैंकद्वारा नेपाल–भारत रियल–टाइम रेमिट्यान्स सेवाको सुरुवात

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड (EBL) ले नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै ‘EBL Touch 24’ मोबाइल बैंकिङ एपमार्फत नेपाल र भारतबीच रियल–टाइम (Real-Time) क्रस–बोर्डर रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार यो डिजिटल सेवामार्फत नेपाल र भारतका नागरिकले छिटो, सहज र सुरक्षित रूपमा तत्काल रकम आदान–प्रदान गर्न सक्नेछन्। नयाँ व्यवस्थाअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारतीय रुपैयाँ १५ हजार र मासिक १ लाख रुपैयाँसम्म भारत पठाउन सक्नेछन्।

त्यस्तै, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकले दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ। सेवाअन्तर्गत ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गरी सहज रूपमा रकम पठाउन सक्नेछन्।

भारतका प्रयोगकर्ताले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले यस सेवाले दुई देशबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्