नेभिगेशन
खेलकुद

गोल नगरी पनि नायक बने ग्यानन–डोक

स्कटल्यान्डले ३६ वर्षपछि विश्वकपमा जित निकाल्दा सबैभन्दा बढी चर्चा २० वर्षीय विंगर बेन ग्यानन–डोकको भयो । हैटीविरुद्धको उद्घाटन खेलमा उनले गोल नगरे पनि आफ्नो ऊर्जाशील प्रदर्शन, आक्रामक खेलशैली र समर्पणका कारण समर्थकहरूको मन जिते ।
खेलको ५४औं मिनेटमा बललाई गोलकिकका लागि बाहिर पठाएपछि उनले गरेको उत्साहपूर्ण प्रतिक्रिया समर्थकहरूका लागि विशेष क्षण बन्यो । स्कटल्यान्डका धेरै समर्थकका लागि यो खेल नै ‘फाइनल’जत्तिकै महŒवपूर्ण थियो, र ग्यानन–डोकले त्यही भावना मैदानमा झल्काए ।
विश्वकपमा स्कटल्यान्डको २८ वर्षपछि भएको पुनरागमनमा अनुभवी खेलाडीहरू स्कट म्याकटोमिने, जोन म्याकगिन र लरेन्स श्यांकल्यान्ड पनि मैदानमा थिए । तर खेलको केन्द्रमा भने ग्यानन–डोक नै रहे । उनले निरन्तर आक्रमण सिर्जना गरे, म्याकटोमिनेको पोस्टमा लागेको प्रहारको आधार तयार पारे र चे एडम्सलाई दिएको पासबाट बनेको अवसरमा म्याकगिनले गोल गर्दै स्कटल्यान्डलाई १९९८ यताकै पहिलो विश्वकप गोल दिलाए ।
ग्यानन–डोकको यात्रा भने सहज थिएन । दुई वर्षअघि युरो २०२४ का लागि टोलीमा परे पनि चोटका कारण अन्तिम प्रतियोगिता खेल्न पाएनन् । पछिल्ला तीन वर्षमा तीनपटक गम्भीर चोट बोहोरेका उनले लामो समय मैदानबाहिर बिताए । डेनमार्कविरुद्धको छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेलगत्तै लागेको ह्यामस्ट्रिङ चोटले पनि उनको प्रगति रोक्ने प्रयास गरेको थियो ।
१६ वर्षको उमेरमा सेल्टिक छाडेर लिभरपुल पुगेका ग्यानन–डोकले कठिन समयको सामना गर्दा पुनः धार्मिक आस्थातर्फ फर्किएको बताएका छन् । बाल्यकालदेखि क्याथोलिक संस्कारमा हुर्किएका उनले चोट र एक्लोपनको समयमा बाइबल पढ्न थालेका थिए । अहिले पनि उनी खेलअघि प्रार्थना गर्ने र निजी रूपमा धार्मिक अभ्यास गर्ने गर्छन् । उनका अनुसार यही विश्वासले उनलाई मानसिक रूपमा बलियो र स्थिर बनाएको छ ।
हैटीविरुद्धको खेलपछि पूर्व स्कटल्यान्ड खेलाडी प्याट नेभिन र स्कट ब्राउनले उनको खुलेर प्रशंसा गरे । समर्थकहरूका लागि ग्यानन–डोक आशा, उत्साह र नयाँ पुस्ताको प्रतीक बनेका छन् । विश्वकपको सुरुआती प्रदर्शनले उनले स्कटल्यान्ड फुटबलको उज्ज्वल भविष्यको संकेत दिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्