नेभिगेशन
खेलकुद

फुटबल विज्ञ बन्ने ९ तथ्य

विश्वकप सुरु हुन अब केही दिन मात्र बाँकी छ । त्यसैले अहिले जताततै फुटबलकै चर्चा छ । यदि तपाईं कट्टर फुटबल समर्थक होइन भने पनि चिन्ता लिनु पर्दैन । यी केही रोचक तथ्यले तपाईंलाई विश्वकपबारे जानकार व्यक्तिजस्तै देखाउन सक्छन् ।
 १. यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हो
सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । पहिलो पटक तीन देशले मिलेर विश्वकप आयोजना गर्न लागेका हुन् । यसपटक टोली संख्या ३२ बाट बढाएर ४८ पु¥याइएको छ । त्यसैले खेल संख्या पनि इतिहासमै सबैभन्दा धेरै हुनेछ । केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानजस्ता देशले पहिलो पटक विश्वकप खेल्दैछन् ।
 २. रोनाल्डो र मेस्सीको अन्तिम विश्वकप हुन सक्छ
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र प्रतियोगिताका क्रममा ३९ वर्ष पुग्ने लियोनेल मेस्सी दुवैले आफ्नो टोलीको कप्तानी गर्नेछन् । रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप हुने संकेत गरिसकेका छन् । कतार २०२२ का विजेता मेस्सीका लागि पनि यो अन्तिम विश्वकप हुन सक्ने अनुमान छ । दुवै खेलाडीले छैटौं विश्वकप खेल्दै इतिहास बनाउन सक्छन् ।
 ३. आयोजक राष्ट्रमाथि दबाब
इतिहास हेर्दा घरेलु मैदानमा खेल्ने टोलीलाई फाइदा हुने गरेको छ । तर पछिल्ला विश्वकपहरूमा आयोजक राष्ट्रले अपेक्षित सफलता पाएका छैनन् । दक्षिण अफ्रिका र कतार समूह चरणबाटै बाहिरिएका थिए भने ब्राजिलले २०१४ मा जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो ।
 ४. ल्याटिन अमेरिकी समर्थकले बनाउनेछन् माहोल
अर्जेन्टिना, ब्राजिल र मेक्सिकोका समर्थक विश्वकै सबैभन्दा उत्साही समर्थकमध्ये पर्छन् । अर्जेन्टिनाका समर्थकको जोश, ब्राजिलका साम्बा बाजा र मेक्सिकोको ऐतिहासिक अज्टेका रंगशालाले प्रतियोगितालाई विशेष बनाउने अपेक्षा गरिएको छ ।
 ५. कतिपय देशमा विश्वकप राष्ट्रिय चाडजस्तै
ब्राजिलमा विश्वकपका खेलका बेला सरकारी कार्यालयको समयसमेत परिवर्तन गरिन्छ । सडकहरू राष्ट्रिय झण्डाले सजाइन्छन् । स्कटल्यान्डमा पनि टोलीको खेलपछिको दिन केही सरकारी कर्मचारीलाई बिदा दिइने व्यवस्था गरिएको छ ।
 ६. खेलाडीलाई आकर्षक बोनस
विश्वकप जितेपछि धेरै देशले आफ्ना खेलाडीलाई ठूलो आर्थिक पुरस्कार दिन्छन् । सन् २०१४ मा विश्वकप जितेका जर्मन खेलाडीहरूले जनही तीन लाख युरो बोनस पाएका थिए । तर सबै देशको आर्थिक क्षमता समान हुँदैन ।
 ७. केही प्रशिक्षक स्वयं विश्वकप विजेता
फ्रान्सका प्रशिक्षक डिडिएर डेसाम्प खेलाडी र प्रशिक्षक दुवै रूपमा विश्वकप जित्ने दुर्लभ व्यक्तिमध्ये एक हुन् । यसपटक पनि धेरै प्रशिक्षक पूर्व विश्वकप खेलाडी नै छन् ।
 ८. प्रतियोगिताको अप्रत्याशित सामाजिक सञ्जाल स्टार
न्युजिल्यान्डका डिफेन्डर टिम पेन केही समयअघि इन्स्टाग्राममा पाँच हजारभन्दा कम फलोअर भएका खेलाडी थिए । तर एक अर्जेन्टिनी कन्टेन्ट क्रिएटरको अभियानपछि उनका फलोअर संख्या ४० लाखभन्दा बढी पुगेको छ ।
 ९. खेलाडीका झोलामा जुत्ता मात्र हुँदैन
विश्वकपमा जाने खेलाडीहरूले जुत्ता, ब्रस र सनस्क्रिनसँगै विभिन्न व्यक्तिगत सामान पनि लैजान्छन् । इङ्ल्यान्डका खेलाडीहरूले चप्पल, युनो कार्ड र भिडियो गेम कन्सोल बोकेको खुलाएका थिए । स्कटल्यान्डका कप्तान एन्डी रोबर्टसनले त साथी खेलाडीका लागि परम्परागत स्कटिस खानेकुरा र प्रसिद्ध पेय ‘आर्न–ब्रु’समेत लगेको बताइएको छ ।
विश्वकप केवल फुटबल प्रतियोगिता मात्र होइन; यो त संस्कृति, इतिहास, उत्साह, राष्ट्रिय गौरव र करोडौं समर्थकको भावनासँग जोडिएको विश्वव्यापी उत्सव पनि हो । यी तथ्य सम्झिनुभयो भने विश्वकपको कुनै पनि छलफलमा निर्धक्क सहभागी हुन सक्नुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्