यस ग्रीष्मकालीन विश्वकपमा प्रतिस्पर्धा गरिरहेका सबै खेलाडीहरूको मुख्य लक्ष्य प्रतियोगिताको अन्त्यमा ऐतिहासिक फिफा विश्वकपको ट्रफी उचाल्ने नै हुन्छ । तर, यसका साथै खेलाडीहरूका लागि विभिन्न व्यक्तिगत पुरस्कारहरू पनि उपलब्ध हुनेछन् ।
सन् १९८२ मा स्पेनमा भएको प्रतियोगितादेखि नै विश्वकपका खेलाडीहरूले व्यक्तिगत रूपमा गोल्डेन बल र गोल्डेन बुट पुरस्कारका लागि प्रतिस्पर्धा गर्दै आएका छन् । यी पुरस्कारहरू क्रमशः प्रतियोगिताकै उत्कृष्ट खेलाडी र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।
उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ पुरस्कारको सुरुवात भने सन् १९९४ मा भएको हो । सुरुमा यसलाई ’लेभ याशिन अवार्ड’ भनिन्थ्यो, तर सन् २०१० मा यसको नाम परिवर्तन गरियो ।
सन् २०२६ को विश्वकप सुरु हुनु ठीक अगाडि एडिडास कम्पनीले यी तीनवटा मुख्य व्यक्तिगत विधाका ट्रफीहरूको नयाँ र आधुनिक डिजाइन सार्वजनिक गरेको छ । क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा हुन गइरहेको यस प्रतियोगिताका लागि गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ ट्रफीहरूलाई नयाँ स्वरूप दिइएको हो ।
गोल्डेन बल
सन् २०२६ को गोल्डेन बल पुरस्कारको डिजाइन यस विश्वकपभरि प्रयोग गरिने ‘एडिडास ट्रिओन्डा’ खेल बलको मोडेलमा आधारित छ । लियोनेल मेस्सी हालका गोल्डेन बल विजेता हुन् । कतारमा आयोजित २०२२ को विश्वकपमा अर्जेन्टिनालाई ऐतिहासिक जित दिलाएपछि उनलाई यो पुरस्कार प्रदान गरिएको थियो ।
सन् २०२६ मा मेस्सीले आफ्नो यो उपाधि जोगाउने सम्भावना पक्कै छ, तर अर्जेन्टिनाका यी ३८ वर्षीय खेलाडीले फ्रान्सका किलियन एमबाप्पे (जो २०२२ मा उपविजेता बनेका थिए) सँगै अन्य उदीयमान खेलाडीहरूबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ ।
चोटका कारण स्पेनका लामिन यमालको सुरुवाती खेलहरू प्रभावित हुन सक्ने भए तापनि उनीसँग आफ्नो दाबी बलियो बनाउने क्षमता छ । त्यस्तै, इंगल्याण्डका ह्यारी केन, हालका ब्यालोन डी’ओर विजेता ओस्मान डेम्बेले, उनका फ्रान्सेली सहकर्मी माइकल ओलिसे, र पोर्चुगलका भिटिन्हा तथा ब्रुनो फर्नान्डेज जस्ता खेलाडीहरू पनि आ–आफ्नो क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै यस प्रतियोगितामा होमिएका छन् ।
गोल्डेन बुट
सन् २०२२ को विश्वकपको फाइनलमा पराजित भए तापनि एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै मेस्सीलाई एक गोलले पछि पारेर गोल्डेन बुट जितेका थिए ।
पछिल्ला वर्षहरूमा केन (२०१८), जेम्स रोड्रिगेज (२०१४) र थोमस मुलर (२०१०) ले यो पुरस्कार जितेका छन् भने यसको नाम गोल्डेन सुबाट गोल्डेन बुट बनाइएपछि रोनाल्डो नाजारियो (२००२) र विश्वकपमा पुरुषतर्फ सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोस (२००६) ले पनि यो उपाधि हात पारेका छन् ।
गएको सिजन बायर्न म्युनिखका लागि जम्मा ५१ खेलमा ६१ गोल गरेका केनले सन् २०१८ को आफ्नो सफलतालाई दोहो¥याउने बलियो सम्भावना छ । यद्यपि, उनले एमबाप्पे, ओलिसे, डेम्बेले, नर्वेका अर्लिङ हालान्ड, ब्राजिलका भिनिसियस जुनियर र यमालजस्ता उम्दा गोलकर्ताहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
मेस्सी वा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो जस्ता अनुभवी खेलाडीहरूलाई पनि खेलबाट पूर्ण रूपमा नजरअन्दाज गर्न मिल्दैन । तर, इतिहासमा ३० वर्ष वा सोभन्दा बढी उमेरका एकजना खेलाडीले मात्र विश्वकपको गोल्डेन बुट जित्न सकेका छन् । क्रोएसियाका डाभोर सुकरले सन् १९९८ को विश्वकपमा ३० वर्षको उमेरमा ६ गोल गर्दै यो उपलब्धि हासिल गरेका थिए ।
गोल्डेन ग्लोभ
विश्वकपका दौरान उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ पुरस्कार प्रदान गरिन्छ । यस पुरस्कारका पहिलो विजेता स्पेनका इकर क्यासिलास हुन्, जसले सन् २०१० मा आफ्नो देशलाई विश्वकप दिलाउने क्रममा पाँचवटा खेलमा गोल हुन दिएका थिएनन् ।
सन् २०२२ को पुरस्कार अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले जितेका थिए । उनले प्रतियोगितामा तीनवटा खेलमा कुनै गोल खानु भएन भने पेनाल्टी सुटआउटमा महŒवपूर्ण बचाउ गरे । फाइनल खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा फ्रान्सका फरवार्ड रान्डल कोलो मुआनीको प्रहारलाई रोक्दै उनले खेललाई पेनाल्टीसम्म पु¥याएर अर्जेन्टिनाको जितमा मुख्य भूमिका खेलेका थिए ।
मार्टिनेजले सन् २०२६ मा पनि यस्तै उत्कृष्ट प्रदर्शन गरेमा आफ्नो उपाधि जोगाउन सक्छन्, तर उनीबाहेक अन्य उत्तिकै प्रभावशाली गोलकिपरहरू पनि मैदानमा छन् । स्पेनका डेभिड राया र उनाई सिमोन, इंगल्याण्डका जोर्डन पिकफोर्ड, ब्राजिलका एलिसन, वा पोर्चुगलका डिओगो कोस्टाको उत्कृष्ट प्रदर्शनले मार्टिनेजलाई चुनौती दिन सक्छ ।
यसका साथै, जर्मनीले आफ्नो टोलीमा अचम्मको निर्णय गर्दै ४० वर्षीय म्यानुएल नोयरलाई अन्तिम खेलका लागि पुनः टोलीमा बोलाएको छ, जसका कारण सन् २०१४ का यी गोल्डेन ग्लोभ विजेताको पुनरागमनले पनि यो प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ । इएसपीएन