एटलान्टा (एपी) — विश्वकपमा पहिलो पटक सहभागिताको मौका पाएको टिम, त्यसमाथि पहिलोपटक नै यो मैदानमा उत्रिएका खेलाडी । अनुभवी स्पेनका लागि अनपेक्षित तगारो बन्यो केप भर्डे । र, यो टिमका गोलरक्षक भोजिन्हा त पर्खालजस्तै देखिए ।
स्पेनलाई बराबरीमा रोकेपछि संसारभर केप भर्डेले जति चर्चा पाएको छ, त्यो चर्चामा नछुट्ने पात्र बनेका छन् ४० वर्षीय भोजिन्हा । उनले जीवनमा पहिलो पटक विश्वकपमा खेल्ने अवसर पाए । लामो प्रतीक्षाको प्रतिफल उनका लागि अविस्मरणीय बनेको छ ।
सोमबार भोजिन्हाले सातवटा महŒवपूर्ण बचाउ गर्दै स्पेनको स्टार खेलाडीहरूले भरिएको टोलीलाई आश्चर्यजनक रूपमा ०–० को बराबरीमा रोक्न सफल भए । स्पेनले खेलभरि बलमाथि प्रभुत्व जमाएको थियो र २७ पटक प्रहार गरेको थियो, तर भोजिन्हा र केप भर्डेको रक्षापंक्तिलाई भेद्न सकेन । दोस्रो हाफमा युवा सुपरस्टार लामिन यामाल मैदानमा आए पनि स्पेनले गोल गर्न सकेन । खेल अगाडि बढ्दै जाँदा स्पेनी टोली र उनीहरूका समर्थकहरू झन् निराश बन्दै गए ।
अन्तिम सिटी बज्नासाथ भोजिन्हा आफ्नो गोलपोस्ट नजिकै झुकेर रोए । त्यसपछि उनका सहकर्मीहरूले उनलाई अँगालो हाले । आफ्नो इतिहासकै पहिलो विश्वकप खेल खेलेको केप भर्डेले सन् २०१० को विश्वविजेता तथा यसपटकको प्रतियोगिताको प्रमुख दाबेदारमध्ये एक स्पेनविरुद्ध एक अंक हासिल गरेको थियो ।
भोजिन्हाले आफूलाई हुर्काउने हजुरबुबा–हजुरआमा र आमाको सम्झनाले भावुक बनाएको बताए । उनका हजुरबुबा–हजुरआमाको केही वर्षअघि निधन भइसकेको थियो । उनकी आमाले खेल हेर्न आउन चाहन्थिन् । तर, अमेरिका आउन भिसाका लागि लाग्ने पैसा जुटाउन नसक्दा आउन पाइनन् ।
केप भर्डे ती ५० देशमध्ये एउटा यस्तो हो, जसका नागरिकले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलरसम्मको धरौटी राख्नुपर्ने व्यवस्था छ । यो नीति राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उच्च भिसा अवधि उल्लंघन दर भएका देशहरूका यात्रुहरूमाथि कडाइ गर्ने अभियानअन्तर्गत लागू गरेको थियो । गत महिना ट्रम्प प्रशासनले केप भर्डेसहित विश्वकपमा सहभागी पाँच देशका टिकटधारी समर्थकहरूका लागि यो शर्त हटाएको थियो, तर आलोचकहरूले धेरै समर्थकहरूका लागि त्यो निर्णय निकै ढिलो आएको बताएका थिए ।
भोजिन्हाको यो प्रदर्शन उनको संघर्षपूर्ण करियरको पराकाष्ठा थियो । उनले २५ वर्षको उमेरमा अंगोलाको क्लब प्रोग्रेसोबाट व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसपछि उनले मोल्डोभा, साइप्रस, स्लोभाकिया र पोर्चुगलका विभिन्न क्लबमा खेले । हाल उनी पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेसबाट खेल्छन् ।
सन् २०१२ मा राष्ट्रिय टोलीमा आबद्ध भएका भोजिन्हाले कहिलेकाहीँ राष्ट्रिय टोलीबाट सन्यास लिनेबारे पनि सोचेका थिए । तर उनले भने, ‘यो सपनाका कारण म निरन्तर अघि बढिरहेँ ।’
उनले भने, ‘मैले आफ्नो जीवनभर यही क्षण, यही सपना पूरा गर्न मेहनत गरेको हुँ । अघिल्ला धेरै पुस्ताले पनि यो दिनको सपना देखेका थिए, तर उनीहरूले हासिल गर्न सकेनन् । अब त्यो सपना साकार भएको छ ।’
पोर्चुगाली भाषामा ‘भोजिन्हा’ शब्दको अर्थ ‘सानी हजुरआमा’ हुन्छ । गोलरक्षकका अनुसार बाल्यकालमा आफूभन्दा ठूला केटाकेटीहरूले फुटबल खेल्दा उनलाई हराएर हाँस्दै ‘अब ऊ घर गएर हजुरबुबा–हजुरआमासँग गुनासो गर्छ’ भन्ने गर्थे । त्यही कारण उनलाई यो उपनाम दिइएको थियो । पछि क्लबमा अर्को खेलाडीको पनि पहिलो नाम जोसिमार भएकाले उनले यही उपनामलाई आफ्नो आधिकारिक नामका रूपमा अपनाए ।
केप भर्डेका डिफेन्डर स्टिभेन मोरेइराले अहिले पनि टोलीका खेलाडीहरू भोजिन्हाको उमेरको विषयमा मजाक गर्ने गरेको बताए । तर उनले भोजिन्हाप्रति गर्व गर्दै उनको प्रदर्शनलाई अविश्वसनीय मानेको बताएका छन् । मोरेइराका अनुसार भोजिन्हाले उमेरले कुनै फरक नपार्ने प्रमाणित गरेका छन् ।
विश्वभरका समर्थकहरूले पनि उनको प्रदर्शनलाई ध्यान दिए । खेल सकिएको केही घण्टामै इन्स्टाग्राममा भोजिन्हाका फलोअरहरूको संख्या करिब ५० हजारबाट बढेर २४ लाखभन्दा बढी पुगेको थियो ।
डिफेन्डर पिको लोपेसले भने, ‘उनी केप भर्डेका लागि पूर्ण रूपमा समर्पित छन् । अभ्यासका क्रममा कहिलेकाहीँ उनी निकै कडा स्वभावका देखिन्छन् । सबैलाई समयमै उपस्थित हुन दबाब दिन्छन् । तर त्यो उनको शैली हो । उनी हामीलाई अझ राम्रो बन्न प्रेरित गर्छन् र आज तपाईंहरूले देख्नुभयो –उनी आफैं उदाहरण बनेर नेतृत्व गर्छन् ।’