नेभिगेशन
खेलकुद

इरान र न्युजिल्यान्डबीच २–२ को बराबरी

तेहरान सरकारविरुद्ध भइरहेका प्रदर्शन र अमेरिका–इरान युद्ध अन्त्य गर्न गरिएको शान्ति सम्झौताको तनावपूर्ण पृष्ठभूमिबीच लस एन्जलस स्टेडियममा भएको रोमाञ्चक विश्वकप भिडन्तमा इरानले दुईपटक सम्हालिँदै न्युजिल्यान्डसँग २–२ को बराबरी खेलेको छ । सोमबार भएको यस खेलमा मैदान बाहिरको सुरक्षा व्यवस्था र रंगशाला बाहिर भएका प्रदर्शनहरू मुख्य चासोका विषय बनेका थिए ।
खेलको सुरुवातमै क्रिस उडको पासमा एलिजा जस्टले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट भली गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाउँदा इरानी सरकारको विरोध गरिरहेका केही समर्थकहरूले न्युजिल्यान्डका प्रशंसकहरूसँगै खुसीयाली मनाए । सरकार विरोधी यी धेरैजसो दर्शकहरूले फिफाको नियमविपरीत इरानको इस्लामिक क्रान्तिभन्दा अगाडिको ‘सिंह र सूर्य’ अंकित झण्डा बोकेका थिए । केहीले खेल सुरु हुनुअघि इरानको राष्ट्रिय गान बज्दा हुटिङसमेत गरेका थिए ।
तर, रंगशालामा उपस्थित ७० हजारभन्दा बढी दर्शकको ठूलो हिस्सा भने इरानी टोलीको पक्षमा देखिन्थ्यो । उनीहरूले ‘इ–रान! इ–रान!’ भन्दै हुटिङ गरिरहेका थिए र खेलको आधा घण्टापछि रामिन रेजाएयानले बराबरी गोल फर्काउँदा रंगशाला खुसीले गुञ्जायमान भएको थियो ।
अमेरिका र इजरायलको हवाई आक्रमणका कारण घरेलु लिग स्थगित भएपछि गत फेब्रुअरीदेखि व्यावसायिक फुटबल नखेलेका इरानी खेलाडीहरूमध्ये रेजाएयान एक हुन् । विपक्षी गोलकिपर अघि बढेको अवस्थामा बल ब्लक भएर फर्किएपछि उनले तदारुकता देखाउँदै बललाई जालीको दिशा दिएका थिए ।
दोस्रो हाफको सुरुवातमै उड र जस्टको जोडीले पुनः कमाल ग¥यो । न्युजिल्यान्डका कप्तान उडले मिलाइदिएको सटिक पासलाई २६ वर्षीय फरवार्ड जस्टले प्रहार गर्दै न्युजिल्यान्डलाई फेरि अग्रता दिलाए । त्यसको १० मिनेटपछि नै इरानले मोहम्मद मोहेब्बीको उत्कृष्ट गोलमार्फत खेललाई २–२ को बराबरीमा ल्यायो । उनले रेजाएयानको सुन्दर क्रसलाई हेडमार्फत गोलपोष्टको भित्री भागमा छिराएका थिए । यो बराबरीसँगै समूह ’जी’ मा रहेका सबै टोलीको एक–एक अंक भएको छ, किनभने सोमबार नै भएको अर्को खेलमा बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी खेलेका थिए ।
विश्वकपमा तेस्रो पटक सहभागिता जनाइरहेको न्युजिल्यान्डले सात खेल खेलिसक्दा पनि अझैसम्म कुनै जित हात पार्न सकेको छैन । अर्कोतर्फ, इरान पहिलो पटक नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । यस खेलले इरानी–अमेरिकी प्रशंसकहरूबीचको मतभेदलाई छताछुल्ल पारेको छ । धेरै प्रशंसकहरूले विश्वकप जस्तो ठूलो मञ्चमा इरानलाई देख्दा गर्व लागे पनि तेहरान सरकारले प्रदर्शनकारीमाथि गरेको दमन र वासिङ्टनको बमबारीका कारण आफूहरू अलमलमा परेको बताए ।
खेल सुरु हुनुअघि रंगशाला बाहिर करिब ३०० देखि ५०० को संख्यामा प्रदर्शनकारीहरू जम्मा भएर सरकार विरोधी नारा र झण्डाहरू फहराएका थिए । केही इरानी–अमेरिकीहरूले यो खेल हेर्न आउनुको अर्थ इरान सरकारलाई समर्थन गर्नु सरह भएको बताएका थिए भने कतिपयले राजनीतिलाई अलग राखेर खेलाडीहरूलाई मात्र समर्थन गर्न चाहेको बताएका थिए । इरानले अब आउँदो आइतबार लस एन्जलसमै बेल्जियमको सामना गर्नेछ भने न्युजिल्यान्डले भ्यानकुभरमा इजिप्टसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्