नेभिगेशन
खेलकुद

जर्सीभित्र लुकेका कला, संस्कृति र इतिहासको कथा

अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबल प्रतियोगितामा खेलाडीहरूले मैदानमा बगाउने रगत, पसिना र आँसुसँगै उनीहरूको जर्सीको डिजाइनमा गहिरो सांस्कृतिक र ऐतिहासिक अर्थ पनि जोडिएको छ । एसोसिएटेड प्रेसले यहाँ विश्वकपका केही रोचक र विवादास्पद जर्सीका पृष्ठभूमिहरू प्रस्तुत गरेको छ ।
अर्जेन्टिनाको परम्परागत पेन्टिङ शैली
विश्वकपको वर्तमान विजेता अर्जेन्टिनाले आफ्नो जर्सीमा खेलकुदको इतिहास र कलात्मक अभिव्यक्तिलाई मिसाएको छ । गत मङ्गलबार अल्जेरियाविरुद्ध लियोनेल मेस्सीले ह्याट्रिक गर्दा लगाएको घरेलु जर्सीमा निलो रङ्गका तीनवटा फरक रङ्गीन धर्साहरू छन् । यो सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जित्दाका जर्सीहरूको सम्मानमा बनाइएको हो । अर्कोतर्फ, उनीहरूको गाढा निलो जर्सी भने राजधानी ब्युनस आयर्सको परम्परागत पेन्टिङ शैली ‘फिलेते पोर्तेन्यो’ बाट प्रेरित छ, जसमा चम्किला र घुमाउरो रङ्गहरूसँगै विशेष अक्षर शैलीहरू प्रयोग गरेर सजावट गरिन्छ ।
केप भर्डको हवाई मार्ग
विश्वकपमा पहिलो पटक सहभागिता जनाएको जनसंख्याका हिसाबले यस प्रतियोगिताकै सबैभन्दा सानो राष्ट्र केप भर्डले अफ्रिकाको तटमा रहेका १० वटा ज्वालामुखी टापुमा बस्ने आफ्ना साढे पाँच लाख बासिन्दाप्रति सम्मान व्यक्त गरेको छ । यसको निलो (घरेलु मैदानका लागि) र सेतो (बाहिरी मैदानका लागि) जर्सीमा बनाइएको त्रिकोणीय बुट्टाले ती टापुहरूलाई जोड्ने हवाई मार्गको सञ्जाललाई प्रतिनिधित्व गर्दछ । विश्वकपमा आफ्ना खेलाडीको पछाडि सम्पूर्ण देशवासी एकजुट छन् भन्ने सन्देश दिन खोजिएको यो एकता मैदानमा पनि देखियो, जहाँ टोलीले बलियो मानिएको स्पेनलाई पहिलो खेलमा शून्य–शून्यको बराबरीमा रोक्न सफल भयो ।
बेल्जियमको अतियथार्थवाद
बेल्जियमको बहुरङ्गी जर्सीको कलर (घाँटी) मा “यो जर्सी होइन“ भन्ने सन्देश लेखिएको छ । यो बेल्जियमका खेलाडीहरूको मानसिक सन्तुलन बिग्रिएको कुरा होइन, बरु यो त उनीहरूको देशको २० औं शताब्दीको सुरुवाती समयको प्रसिद्ध अतियथार्थवादी (सुर्रियलिस्ट) कला क्षेत्रप्रतिको सम्मान हो । बेल्जियमका प्रख्यात कलाकार रेने माग्रिटले आफ्नो जीवनभर मस्तिष्क र आँखा, वास्तविकता र भाषाबीचको रहस्यमय सम्बन्धमाथि प्रश्न उठाइरहे । उनले एउटा चुरोट तान्ने पाइपको चित्र कोरेर त्यसको मुनि “यो पाइप होइन“ भनी लेखेका थिए, जुन चित्र निकै चर्चित छ । अहिलेको यो हल्का निलो जर्सीमा गुलाबी बुट्टाहरू र काला धर्साहरू छन्, जसमा फुटबल मैदानका रेखाहरू र बलको आकृति समेटिएको छ । बेल्जियम फुटबल महासङ्घका अनुसार अतियथार्थवादको यो थिमले मानिसको कल्पनाशिलतालाई जगाउने र बहसको सुरुवात गराउनेछ ।
हाइटीको युद्धको दृश्य
विश्वकपमा पहिलो पटक पाइला टेकेको क्यारिबियन राष्ट्र हाइटीले सुरुमा बुझाएको जर्सीको अगाडिको भागमा सन् १८०३ को हाइटीको स्वतन्त्रता संग्रामको अन्तिम युद्धको चित्र राखिएको थियो । कोलम्बियाको कपडा उत्पादक कम्पनी साएटाका अनुसार यो “हाइटीको भविष्यका लागि हरेक दिन योगदान पु¥याउने पुरुष र महिलाहरू प्रति सम्मान“ थियो । तर फिफालाई यो डिजाइन मन परेन । फिफाले यसलाई बढी राजनीतिक भएको भन्दै स्वीकृत गरेन । त्यसैले हाइटीले युद्धको चित्र नभएको नयाँ निलो जर्सी तयार पार्नुप¥यो ।
फ्रान्सको अमेरिकी सम्बन्ध
फ्रान्सले आफ्नो बाहिरी मैदानका लागि प्रयोग गर्ने जर्सीमा फ्रान्सले अमेरिकालाई उपहार दिएको प्रसिद्ध ’स्ट्याच्यु अफ लिबर्टी’ (स्वतन्त्रताको मूर्ति) प्रति सम्मान दर्शाएको छ । यो जर्सीको हरियो रङ्ग उक्त मूर्तिको प्राकृतिक रूपमा परिवर्तन भएको रङ्गसँग मिल्दोजुल्दो छ, जसको डिजाइन फ्रान्सेली नागरिक फ्रेडरिक–अगस्ट बारथोल्डीले गरेका थिए र सन् १८८६ मा फ्रान्स–अमेरिका मित्रताको प्रतीकका रूपमा अमेरिकालाई दिइएको थियो । जर्सीमा तामाको रङ्गको लोगो छ, जुन मूर्तिको वास्तविक सुरुवाती रङ्ग हो, र त्यसमा फ्रान्सेली भाषामा ‘हाम्रो भिन्नताले नै हामीलाई एकताबद्ध गर्छ’ भनी लेखिएको छ ।
इरानको लोपोन्मुख चितुवा
इरानको सेतो र रातो दुवै जर्सीको सबैभन्दा आकर्षक पक्ष भनेको यसको अगाडिको भागमा भुइँतिर निहुरिएको एसियाली चितुवाको चित्र हो । यसको बाहुलादेखि काँधसम्म चितुवाकै शरीरमा हुने थोप्लाहरू बनाइएका छन् । अफ्रिकी चितुवा जत्तिकै तीव्र गतिमा दगुर्न सक्ने एसियाली चितुवा संसारकै सबैभन्दा संकटापन्न जीवमध्ये एक हो, जसलाई जोगाउन इरानले लामो समयदेखि प्रयास गरिरहेको छ । सन् १९९० को दशकमा यस्ता चितुवा ४०० जति भए पनि अहिले इरानमा यिनीहरूको संख्या घटेर ७० भन्दा कम भएको अनुमान छ ।
नर्वेको प्राचीन अक्षर शैली
नर्वेको जर्सी यस विश्वकपमै सबैभन्दा आकर्षक र धारिलो देखिन्छ । खेलाडीहरूको नाम र नम्बरका लागि प्रयोग गरिएको अक्षर शैली उत्तरी युरोपमा प्राचीन कालदेखि ल्याटिन लिपि अपनाउनु अघिसम्म प्रयोग गरिने ’रुनिक’ लेखनबाट प्रेरित छ । यो लेखन शैली तिखो, ज्यामितीय र सजिलै देखिने खालको छ, जसले नर्वेको टोली आफ्नो शताब्दीयौं पुरानो इतिहासलाई अंगाल्न चाहन्छ भन्ने देखाउँछ । जर्सीको छातीमा रहेको ठूलो निलो क्रसको दुवैतर्फ ‘उर्नेस’ शैलीका पुराना भाइकिङ कलाका बुट्टाहरू भरिएका छन् ।
कोलम्बियाको पहेंलो पुतली
कोलम्बियाको चम्किलो पहेंलो जर्सीलाई नजिकबाट हेर्नुभयो भने त्यहाँ पुतलीका बुट्टाहरू देखिन्छन् । यो उनीहरूका नोबेल पुरस्कार विजेता लेखक ग्याब्रियल गार्सिया मार्केजको क्लासिक उपन्यास “वान हन्ड्रेड इयर्स अफ सॉलिट्युड“ (एक सय वर्षको एकान्त) प्रति सम्मान व्यक्त गरिएको हो । मार्केज जादुई यथार्थवादका सबैभन्दा प्रसिद्ध लेखक हुन्, जहाँ दैनिक जीवन र काल्पनिक कुराहरूलाई यसरी मिसाइन्छ कि एउटा मानिसको पछाडि पहेंलो पुतलीको बथान उडिरहेको हुन्छ ।
मेक्सिकोको एज्टेक क्यालेन्डर
मेक्सिकोको घरेलु जर्सीले सन् १९९० को दशकमा लोकप्रिय रहेको ‘एज्टेक क्यालेन्डर’ को डिजाइनलाई पुनः फिर्ता ल्याएको छ । विश्वकपको तयारीका क्रममा मेक्सिकोको टोलीले मेक्सिको सिटीमा रहेको राष्ट्रिय मानवशास्त्र सङ्ग्रहालयको भ्रमण गरेको थियो र एज्टेक सभ्यताको ‘पिएद्रा दे सोल’ अर्थात् सूर्यको ढुङ्गा (जुन एज्टेक क्यालेन्डरका रूपमा चिनिन्छ) को अगाडि उभिएर यही जर्सीमा तस्विर खिचाएको थियो ।
साउदी अरबको वास्तुकला
साउदी अरबको गाढा हरियो जर्सीमा लिनुभयो भने ठाउँ–ठाउँमा बैजनी रङ्गका वर्गाकार वा हीरा आकारका बुट्टाहरू देखिन्छन् । यो साउदीका घरहरूमा प्रायः देखिने ढोकाको परम्परागत त्रिकोणीय ज्यामितीय सजावटको सम्मानमा बनाइएको हो । वसन्त ऋतुमा साउदीको मरुभूमिमा जङ्गली बैजनी (ल्याभेन्डर) फूलहरू फुल्ने भएकाले साउदी अरबमा बैजनी रङ्गलाई निकै महत्त्व दिइन्छ र यसलाई उदारताको प्रतीक मानिन्छ ।
ब्राजिलको अमेजनियाली भ्यागुतो
नाइकी कम्पनीले बनाएको ब्राजिलको गाढा निलो र कालो रङ्गको जर्सी हेर्दा सुरुमै खेलाडी माइकल जोर्डनको ब्रान्डसँग सम्बन्धित पहेंलो “जम्पम्यान“ लोगोले ध्यान तान्न सक्छ । तर, ब्राजिलियन संस्कृतिसँग बढी जोडिएको कुरा चाहिँ यसको रङ्ग हो, जुन अमेजनको जङ्गलमा पाइने एक प्रकारको विषालु भ्यागुतोको छालाको रङ्गबाट प्रेरित छ । पाँच पटकको विश्व विजेता ब्राजिल विपक्षीका लागि कति खतरनाक छ भन्ने कुराको सङ्केत यो जर्सीले गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्